तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । 

परराष्ट्रमन्त्रीले उहाँसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि उहाँले आग्रह गर्नुभएको थियो । यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिनुभएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गर्नुभयो ।  

मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराउनुभएको थियो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button