तपाईँ सुन्दै हुनुहुन्छः

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला

तानसेन (पाल्पा)। तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन ।

चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उहाँ अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।”

सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भन्नुभयो । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।

केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउनुहुन्छ । महिना दिनसम्म काम गरेपछि तलब बुझ्नुहुन्छ । यसभन्दा अघि उहाँको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उहाँलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उहाँको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उहाँले हिजोआज सहज भएको बताउनुभयो ।

केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उहाँहरूले मासिक रू पाँच हजारदेखि १० हजारसम्म कमाउनुहुन्छ ।

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ ।

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उहाँको भनाइ छ ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गर्नुभयो । विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो ।

पोखरादेखि काठमाडौँसम्म पाल्पाली दुना–टपरी

यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार रू दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ ।

दुना–टपरीको धार्मिक महत्त्व

दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।

खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो सहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।

यसरी बनाइन्छ दुना–टपरी

दैनिक जीवनमा चलाउने थाल र बटुकाजस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।

यसको आकार भने आवश्यकतानुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका (साना÷ठूला) विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button