मुख्यमन्त्रीको अनुगमनपछि जनकपुरधामका अवैध अस्पतालहरू धमाधाम बन्द हुँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निजी अस्पतालको नाममा बिरामीलाई ठग्ने तथा ज्यानै मार्नेसम्मको घटनाहरू सार्वजनिक भएपछि अनुगमन थालेपछि त्यसको सकारात्मक असर परेको छ । अनुगमनपछि कतिपय अवैधानिक अस्पतालहरू बन्द भएका छन् ।
निजी अस्पताल खोल्नका लागि स्वास्थ्य ऐन अनुसार अनुमति लिनुका भन्दा अगाडी आवश्यक मापदण्डहरू पुरा गर्नुपर्ने प्रावधान रहेका कारणले जनकपुरधाममा रहेका अधिकांश नीजि अस्पतालहरूले मापदण्ड पुरा नगरेका कारणले सञ्चालन अनुमतिपत्र बेगर सञ्चालन रहेको र बिरामीहरूलाई ठग्दै आएपछि मुख्यमन्त्री सिंहले नगर क्षेत्रका करिब ४० अस्पतालको छड्के अनुगमन गर्दा धेरै बेथितिहरू सार्वजनिक भएका छन् ।
स्वास्थ्यको नाममा भइरहेको गोरख धन्दाका कारणले बिरामीहरूको ज्यानै गएको कतिपय उदाहरणहरू जनकपुरधाममा रहेको छ । केही बिरामीको त्यस्ता अस्पतालले गरेको उपचारले रोग बल्झेर निको नहुने अवस्थामा पुगेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंह सहितको स्वास्थ्यका उच्च अधिकारीहरूको अनुगमन टोलीका कारणले जनकपुरधाममा रहेका दुई दर्जन अस्पताल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो ।
अवैध रुपमा सञ्चालन भएका अस्पताल मध्ये ९ वटा अस्पताल अहिले पूर्ण रुपमा बन्दको अवस्थामा रहेको छ । ती अस्पतालमा रहेका बिरामीहरूलाई मान्यता प्राप्त रहेका अस्पतालमा स्थानान्तरण गरेर अवैध अस्पतालमा सञ्चालकले नै तालाबन्दी गरेका छन् ।
भनिन्छ चिकित्सक भगवानको रुपम हो तर जनकपुरधाममा चिकित्सकहरूले पनि गोरख धन्दामा संलग्न रहेर सर्वसाधारणलाई लुट्दै आएको अनुगमनको क्रममा खुलेका विषयहरूले स्पष्ट भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल वरपर त्यस्ता अवैध अस्पतालहरूको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ ।

ती अवैध अस्पतालहरूले बिरामी तान्नका लागि एम्बुलेन्स चालक देखि बसपार्क, चोक तथा गाउँ गाउँमा दलालहरू परिचालन गरेर बिरामीहरूलाई ललाई फकाई गरेर भर्ना गरेर पसा तान्ने काम मात्र गरेको पाइएको छ । मुख्यमन्त्रीले अनुगमन गर्नु भएपछि अवैध अस्पतालका सञ्चालकहरू भागाभागको अवस्था रहेको छ भने अस्पतालको मूल गेटमा नै ठूलो ताल्चा लगाउने काम भएको छ ।
गत माघ ३ गते जनकपुर १४ मुजेलिमामा रहेको विना दर्ताको मुस्कान अस्पतालमा सर्लाहीकी पविता कुमारी यादवको पित्तथैलीको शल्यक्रिया गर्दा २० दिन सम्म होस् नआएपछि मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएर उक्त अस्पतालहरूको माघ २५ गते अनुगमन भएको थियो । अनुगमनमा मुस्कान अस्पताल दर्ता विना नै अवैध रुपमा सञ्चालन रहेको पाइएपछि ताला लगाउन मुख्यमन्त्रीले निर्देशन दिनु भएको थियो ।
मुख्यमन्त्री सहितको उच्च अनुगमन टोलीले जनकपुरधामको ४० अस्पतालको अनुगमन गर्दा पूर्ण रुपमा बन्द हुनेहरूमा मुस्कान अस्पताल प्रालि, बिएन अस्पताल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, अरमान हस्पिटल, जनकपुर मोडर्न हस्पिटल, जनकपुर मोडेर हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्णा हस्पिटल प्रालि. जनक मेमोरियल हस्पिटल रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाले हालै गरेको एउटा अध्ययनले यहाँका दर्जनौँ निजी अस्पतालहरू वर्षौँदेखि दर्ताविनै सञ्चालनमा रहेको भेटेका थिए । जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन् । तीमध्ये करिब ७५ प्रतिशत अस्पताल दर्ता विना सञ्चालनमा रहेको पाइएको हो ।
यसै बीच जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख एवं अनुगमन टोलीका संयोजक किशोरी साहले नगरक्षेत्रका अस्पतालको अनुगमनमा आफूलाई पनि राख्नु पर्नेमा नराखेको गुनासो गर्नु भएको छ । तर मुख्यमन्त्रीको अनुगमन माथिल्लो निकायबाट भएकाले यसलाई स्वागत गर्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्