तपाईँ सुन्दै हुनुहुन्छः

ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा राष्ट्रिय कविता महोत्सव गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित महोत्सवमा ४८ भाषामा कविले आ–आफ्ना रचना वाचन गर्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवले लोपोन्मुख भाषाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मुलुकमा लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेकाले तीनको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

मातृभाषाले व्यक्त गर्ने भावना अन्य भाषाहरूले दुरुस्त अभिव्यक्त गर्न नसक्ने बताउँदै उहाँले ज्ञानको बहुआयामिक महत्त्व बचाउनका लागि भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले संसारभर सात हजार भाषा बोलिने र देशभर अहिले एक सय ३१ वटा भाषा प्रचलित रहेको उल्लेख गर्दै थप खोज अनुसन्धान हुँदै जाँदा भाषा बढ्दै जाने सम्भावना रहेको बताउनुभयो ।  

दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै छन् । लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।” 

प्रत्येक भाषाको अर्थ, संवेदनशीलता, सन्देश, दर्शनले मानव सभ्यताको ऐतिहासिक विकास क्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने बताउँदै मन्त्री पाण्डेले भाषा, संस्कृतिको संरक्षणबाट पनि आयआर्जन गर्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका कुलपति भुपाल राईले बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैका भाषा संस्कृतिको संरक्षण गर्ने प्रतिष्ठानको नीति रहेको बताउनुभयो । सबै जाति समुदायका भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै तीनको संरक्षणमा जोड दिनुभयो ।

सो अवसरमा जनही एक लाख राशिको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गणेश वाम्बुले राई र कमलसिंह रानालाई प्रदान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button