परराष्ट्रमन्त्री डा राणा जेनेभा प्रस्थान गर्नुहुँदै
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ ।
उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ । मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्नुहुने जनाइएको छ ।
परराष्ट्रमन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्नुहुनेछ ।
उहाँले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।
उहाँ यही फागुन १६ गते स्वदेश फर्कनुहुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्