संकटमा आरन पेशा : गुजारा धान्नै मुस्किल

बाजुरा । बाजुरामा पुस्तौंदेखि आरनको काम गर्दै आएका आरन व्यवसायीहरूले यो पेशाबाट दैनिक घरपरिवारको गुजारा गर्न निकै मुस्किल भइरहेको बताएका छन्। बडिमालिका नगरपालिका वडा नं. ५ का गिठे मिजारले आरन पेसाबाट जीविकोपार्जन गर्न अत्यन्त कठिन भइरहेको बताउनुभएकाे छ।
आरन व्यवसायका लागि प्रत्येक घरबाट बाली उठाउने “खलो खाने” प्रथा रहेको बाजुरामा, अहिले काम अनुसारको अन्न पाउन छोडेपछि घर धान्नै मुस्किल हुने गरेको व्यवसायीहरूको गुनासो छ।
पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणले जिल्लामा आरन पेसासमेत लोप हुँदै गएको छ। विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरो लगायत घरेलु औजार निर्माण गर्ने आरन व्यवसायीहरूले समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा यो पेसा हराउन थालेको सरोकारवालाको भनाइ छ।

आरन व्यवसायबाट आम्दानी खासै छैन र परिवार पाल्न धौधौ परेपछि युवा पुस्ताको यस पेसामा आकर्षण घटेको छ। पहिले एक गाउँमा दर्जन बढी परिवारले यो पेशा अंगालेका हुन्थे, अहिले प्रायः गाउँमा एकदुई जनाले मात्र यो काम गरिरहेका छन्। सदरमुकाम मार्तडीका एक आरन व्यवसायी लालबहादुर विकले गुनासो गर्दै भन्नुभयाे, “दिनरात काम गरे पनि उचित पारिश्रमिक पाउँदैनौँ।”
आरन व्यवसायीहरूलाई स्थानीय सरकारको कुनै सहयोग छैन। विकका अनुसार, “यदि सरकारले आधुनिक आरन उपलब्ध गराएको भए, यो काम सजिलो हुने थियो।”
स्थानिय आरन व्यवसायीहरू भन्छन्, “राज्यले अन्य व्यवसायीलाई जस्तै आरन पेसा गर्नेहरूलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए भने यस पेसामा अडिन सहयोग पुग्ने थियो।”
आगोको रापमा दिनभर फलाम पिटेर सामग्री निर्माण गरेपछि पनि राम्राे ज्याला नपाएपछि आरन व्यवसाय संकटमा परेको हो। समाजको दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्दै गएको छ। युवाहरू यो पेशाबाट मनग्य आम्दानी नहुने देखेर अन्य व्यवसाय गर्न वा विदेश जान चाहान्छन्। यसैले परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ।
प्रतिक्रिया राख्नुहोस्