‘सम्पुर्ण जाति, भाषा तथा धर्मको रक्षा र संवर्द्धन कोशी सरकारले गर्छ’
उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार कोशी प्रदेश भित्रका सबै जातजाति, भाषा संस्कार र संस्कृतिको रक्षा र संवर्द्धन गर्न लागिपरेको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदनभण्डारी राजमार्गमा स्वर्गीय नारदमुनि थुलुङ्गको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
स्वर्गीय नारदमुनि थुलुङ विक्रम संवत् १९६५ चैत २७ गते भोजपुर जिल्लाको तत्कालीन छिनामखु गाविसमा जन्मनुभएका व्यक्ति हुनुहुन्थ्यो । वहाँ २००७ साल मङ्सिर २४ मा भोजपुर जिल्ला तत्कालीन मुक्ति सेनाले कब्जा गर्दा मुक्ति सेनाको नेतृत्वकारी व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो । २००७ सालको सशस्त्र आन्दोलनपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको मन्त्रिमण्डलमा उहाँ पहिलोपटक स्वायत्त मन्त्री हुनुभयो र दोस्रोपटक मालपोत, वन र रक्षामन्त्री समेत हुनुभयो ।
मुख्यमन्त्री कार्कीले कसैको पहिचान मेटेर नमेटिने भन्दै आफु नेतृत्वको सरकारले सबैको पहिचानको रक्षा गर्ने समेत जिकिर गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको नामलाई लिएर असन्तुष्ट पक्षहरूलाई वार्ता र संवादमा आउन समेत आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले आफु नेतृत्वको कोशी सरकारले सबै खाले पहिचान, भाषा, संस्कार र संस्कृतिको पूर्णरुपले रक्षा, संवर्द्धन र प्रवर्द्धन गर्ने भन्दै प्रदेशको नामका विषयमा भएको असन्तुष्टिलाई नेपालको कानुन संवत् सम्बोधन गर्दै जाने समेत जिकिर गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्