अमेरिकासँगको तनावबीच दक्षिण अफ्रिकामा जी–२० विदेशमन्त्रीहरूको बैठक सुरु हुँदै
जोहानेसबर्ग । जी–२० देशका विदेशमन्त्रीहरूको बैठक बिहीबार जोहानेसबर्गमा सुरु हुनेछ तर दक्षिण अफ्रिका र अमेरिकाबीचको कूटनीतिक तनावका बीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो उपस्थित हुनुहुने छैन ।
रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यी लगायत कूटनीतिज्ञहरू यस भेलामा उपस्थित हुने अपेक्षा गरिएको छ भने अमेरिकाको प्रतिनिधित्व दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत डाना ब्राउनले गर्नुहुनेछ ।
जी–२० को हिस्सा रहेका युरोपेली सङ्घ ९इयु०, संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ सहभागी हुनेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको एक कार्यकारी आदेशपछि रुबियोले बैठकमा जान अस्वीकार गर्नुभएको हो । उक्त आदेशले देशको श्वेत अल्पसङ्ख्यक विरुद्ध भेदभाव हुने गरी कानून बनाएको भन्दै दक्षिण अफ्रिकालाई विदेशी सहायता रोक्ने निर्णय गरेको थियो । अमेरिका अन्तर्राष्ट्रिय न्यायालयमा इजरायल विरुद्ध दक्षिण अफ्रिकाको मुद्दासँग पनि असन्तुष्ट छ ।
दक्षिण अफ्रिकाका विदेशमन्त्री रोनाल्ड लामोलाले रुबियोको निर्णय ‘दक्षिण अफ्रिकाको जी–२० को पूर्ण बहिष्कार नभएको’ बताउनुभएको छ । उहाँले अमेरिकालाई यस हप्ता जोहानेसबर्गमा ‘कुनै न कुनै रूप वा आकारमा’ प्रतिनिधित्व गरिने बताउनुभयो ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले पनि उहाँ अर्को हप्ता दक्षिण अफ्रिकामा हुने जी–२० वित्तमन्त्रीहरूको बैठकमा उपस्थित नहुने स्पष्ट गर्नुभएको छ ।
बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा वासिङ्टनमा दायित्वहरूका कारण उहाँले कार्यक्रममा भाग लिन नसक्ने बताउनुभएको छ । उहाँको स्थानमा वित्त मन्त्रालयका एक वरिष्ठ अधिकारी उपस्थित हुनेछन् ।
विश्लेषकहरूका अनुसार रुबियो र बेसेन्टको अनुपस्थितिले अमेरिका जी–२० बाट पछि हट्दै गरेको सङ्केत गर्छ र सम्बन्धहरू कति तनावपूर्ण छन् भन्ने देखाउँछ ।
“मलाई लाग्छ यदि हामी वास्तवमै अमेरिकी प्रशासनले के सन्देश दिन खोजिरहेको छ भन्ने जान्न चाहन्छौँ भने तपाईँले वित्तमन्त्री अर्को हप्ता आउनुहुनेछ वा छैन भनेर जान्नुपर्छ, यदि उहाँले पनि आउन छनोट गर्नुभएन भने, यो एक गम्भीर सङ्केत हो”, राजनीतिक विश्लेषक डेनियल ब्राडलोले भन्नुभयो ।
राष्ट्रपति सिरिल रामाफोसाले ‘एकता, समानता र दिगोपना’ विषयवस्तु अन्तर्गत आधिकारिक रूपमा उद्घाटन गरी सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसलाई रुबियोले विविधता, समानता र समावेशी ढाँचा भन्नुभएको छ – जसको नयाँ ट्रम्प प्रशासनले स्पष्ट रूपमा विरोध गर्दछ ।
दक्षिण अफ्रिकाले गत वर्ष डिसेम्बरमा शुरु भएको जी–२० अध्यक्षताको हिस्साका रूपमा यस वर्ष १३० भन्दा बढी कार्यदल बैठक र २३ मन्त्रीस्तरीय बैठकहरू आयोजना गर्नेछ ।
दक्षिण अफ्रिकाको कार्यकालपछि अमेरिकाले सन् २०२६ मा जी–२० को अध्यक्षता ग्रहण गर्ने अपेक्षा गरिएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्