तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेशमा हिउँदे वर्षा नभएकाले खानेपानी र आगलागीको सम्भावना अधिक’

जनकपुरधाम । जलवायु परिवर्तनका कारणले यस वर्ष मधेश प्रदेशका जिल्लाहरूमा हिउँदे वर्षा नभएका कारणले खाने पानीको थप संकट आउने चिन्ता विज्ञहरुले व्यक्त गर्नुभएको छ । 

oplus_2

मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जलवायु पूर्वानुमान सम्बन्धि आसमान नेपाल र मर्सिकोर नेपाल संस्थाले मधेश प्रदेशमा सञ्चालन गरेको जलवायु उत्थानशील सामुदायिक परियोजना अन्तर्गतको जलवायु अनुकूलन सम्बन्धि जनकपुरधाममा आज आयोजना गरेको एक दिने कार्यशालामा सहभागी विज्ञहरुले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । 

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले चुरे विनाशका कारणले मधेश प्रदेशका जिल्लाहरूमा पानीका श्रोतहरू सुक्दै गएकाले चुरेको संरक्षणका लागि तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले जलवायु परिवर्तनका कारणले यस वर्ष जाडो कम हुनुका साथै हिउँदमा पानी नपरेकाले बढी गर्मी र गर्मीमा आगलागी बढ्ने खतरा रहेकाले यस प्रति सजगता बढाउन जरुरी रहेको बताउनुभयो । 

जलवायु परिवर्तन अनुकूलन र विपद जोखिम व्यवस्थापन सम्बन्धि मधेश प्रदेशका जिल्लाहरूमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिकीकरण गर्दै वातावरण विद् मधुसुदन गौतमले मधेश प्रदेशका जिल्लाहरू प्राकृतिक विपद्को दृष्टिकोणले उच्च जोखिममा रहेकाले जोखिमको सामना गर्नका लागि पूर्व तयारीको काम कम भएको बताउनुभयो । 

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम विज्ञान विभागले समयमा विभिन्न विषयको पूर्वानुमान गर्ने गरेका कारणले नेपालमा धेरै धनजनको क्षति हुनबाट जोगिएको उदाहरण दिँदै मधेश प्रदेशका जिल्लाहरूमा मौसम विभागले संरचनाहरू विस्तार गर्दै गएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले मधेश प्रदेश जलवायु परिवर्तनका कारणले उच्च जोखिममा रहेको बताउँदै वातावरण संरक्षणका लागि सवैमा जागरूकता हुन जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button