ऊर्जा मन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उहाँहरुबीचमा दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो ।
भेटमा ऊर्जा मन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पु¥याउँदै आएको योगदानको उच्च कदर गर्नुभयो ।
उहाँले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गर्नुभयो । उहाँले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा सङ्क्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुईपक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गर्नुभयो ।
भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरू सराहनीय रहेको बताउनुभयो । उहाँले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरूलाई सन्तुलनमा राखेर भइरहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्वपूर्ण सघाउ पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा सघाउन लगानी समितिसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्