झापामा सार्क राष्ट्रका चिकित्सकबीच क्यान्सर बारे बृहत सम्मेलन
भद्रपुर, झापा । झापामा सार्क राष्ट्रका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको सहभागितामा क्यान्सर रोग न्यूनीकरणसम्बन्धी तीन दिने सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस’ सुरु भएको छ।
नेपालमा क्यान्सर रोगको उपचारलाई कसरी सुधार गर्न सकिन्छ र बढ्दो क्यान्सरको प्रभावलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा शुक्रबारदेखि सम्मेलन गरिएको हो।
सम्मेलनमा नेपाल, भारत लगायत सार्कका पाँच राष्ट्रका क्यान्सर विशेषज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनको आज र भोलि मेचीनगरस्थित होटल मेची क्राउनमा स्तन र जीआई क्यान्सर रोग र त्यसको उपचार, साथै क्यान्सर उपचारमा रेडिएसनसम्बन्धी छलफल गरिने जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो।
सम्मेलनमा सार्क राष्ट्रका करिब ३५० जना चिकित्सक सहभागी रहेका छन्। क्यान्सर रोगको उपचारमा संलग्न एक सय विशेषज्ञ चिकित्सकहरूले प्रस्तुत गर्ने कार्यपत्रमाथि व्यापक छलफल हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बताउनुभयो।
दुई वर्षअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पतालले यस्तै सम्मेलन आयोजना गरेको थियो।
सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्रा. डा. मदनकुमार पिया, डा. राजेन्द्र बराल, बीएण्डसी टिचिङ अस्पतालका प्रिन्सिपल डा. उमेशकुमार शर्मा, पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. मुक्ति देवकोटा, डा. बजरंगप्रसाद साहलगायतका क्यान्सर विशेषज्ञहरूको सहभागिता रहेको छ।
प्रतिक्रिया राख्नुहोस्