उज्विकिस्तानको ब्ल्याक बुल्स र नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपको उपाधिको लागि शनिबार प्रतिस्पर्धा गर्ने

पोखरा । पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र नेपाल पुलिस क्लब बिच २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको फाइनल खेलमा उपाधिको लागि शनिबार प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लबको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनुभयो ।
उपाधिको साथमा १२ लाख १ हजार नगद पुरस्कारको लागि दुवै टोली बिच पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
दुवै क्लबले नयाँ इतिहास रच्ने दाउमा आ-आफ्नो टिमले जित्ने दाबी गर्नु भएको छ । क्लबले आज(शुक्रबार) पोखरा रङ्गशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरू आहा रारामा धेरै सफलता हासिल गर्दै आएकोले यस पटकको उपाधि समेत जित्ने दाबी गर्नुभयो ।
शनिवारको फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सातौँ पटक उपाधि रक्षा गर्ने योजनामा रहेको उहाँले जनाउनु भयो । आफूहरूसँग युवा र नियमित अभ्यास गरेका खेलाडीहरू भएकोले आफूहरूले विदेशी टिम विरुद्ध प्राविधिक रुपमा खेलेर जित्ने प्रशिक्षक घिमिरेको बुझाई छ ।
ब्ल्याक ब्लूका प्रशिक्षक अब्दुलाजीज निशोनवाएवले नेपालको बलियो टिम नेपाल पुलिससँग शनिबार हुने खेल बराबरी दुवै टिमको अवसर भएको बताउँदै आफूहरूले अघिल्ला म्याचको जस्तै पोखरेलीको मन जित्ने गरी खेल प्रदर्शन गर्ने बताउनु भयो । पोखरेली दर्शक नेपालको विषयमा पहिला सुन्दा र हाल आफै टिम लिएर आउँदा छुट्टै मज्जा आएको नेपालीहरू निकै सहयोगी र नेपाल निकै सुन्दर लागेको उहाँले बताउनु भयो । आफूहरूसँग पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजनका खेलाडीहरू रहेको उहाँले जनाउनु भयो । पुलिस राम वाजीको कप्तानीमा टिम मैदानमा उतार्ने तयारी गरि रहँदा ब्ल्याक ब्लूले भने युवा खेलाडी जाखाेरगिर अख्माडोभको कम्पनीमा मैदानमा उतार्दै छ ।
क्याराभान गोल्ड कप सहित ६ पटकको विजेता नेपाल पुलिस क्लबले समूह ए मा रहेको चर्च ब्वाईज यूनाइटेडलाई पहिलो सेमिफाइनल खेलमा १—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । समूह बीमा रहेको ब्ल्याक बुल्सले आहा रारा गोरखा गोल्ड कपको ५ पटकको विजेता थ्री स्टारलाई एक तर्फी ४-० को गोल अन्तरले पराजित गर्दै उपाधि पुलिससँग उपाधि रक्षाको लागि फाइनलमा यात्रा तय गरेको हो । पुलिसले आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा पराजित गरी क्वाटरफाइनलमा पाहुना टोली बेलायतको ब्रिगेड व्वाईज क्लबलाई पराजित गरी सेमिफाइनलमा यात्रा बनाएको थियो । यता पाहुना टोली ब्ल्याक बुल्सले भने बाई पाएर क्वाटरफाइनलमा भारत सिक्किमको थन्डर नर्थ यूनाइटेडलाई पराजित गरी सेमिफाइनलमा यात्रा बनाएको हो ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो । माघ २२ गते देखि सुरु भएको प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जनाउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्