चैते धान खेतीका लागि धनुषा र महोत्तरीका किसानलाई अनुदानमा बीउ उपलब्ध

जनकपुरधाम । धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने नीति अनुसार धनुषा र महोत्तरीका किसानलाई चैत धानको बीउ अनुदानमा उपलब्ध गराइएको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लष्टर इकाई धनुषाले दुई जिल्लाका चार पालिकामा किसानलाई चैते धान लगाउन प्रोत्साहित गर्न अनुदानमा बीउ उपलब्ध गराइएको हो ।
विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको सो कार्यक्रम अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका चार पालिकामा पोषण, खाद्य सुरक्षासहितको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सरकाले धनुषाको वटेश्वर, जनकनन्दनी र महोत्तरी जिल्लाको सोनमा तथा सम्सी गाउँपालिकामा कार्यक्रमहरू सञ्चालन गरी चैते धानको उत्पादनमा जोड दिँदै आएको छ ।
कार्यक्रम लागु भएका पालिकाहरूमा ८५ प्रतिशत अनुदानमा चालु आर्थिक वर्षमा परियोजनाले ३ मेट्रिकटन हर्दिनाथ जातको उन्नत चैते धानको बीउ उपलब्ध गराएको परियोजनाका कार्यालय प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।
धनुषा तथा महोत्तरीका चार पालिकामा यसअघि खाद्य तथा पोषण सुधारको कार्यक्रम गर्दै आएकोमा यस पटक ७५ हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्ने गरि बीउको वितरण गरिएको भन्नुहुँदै परियोजना प्रमुख तिवारीले वर्षे धानभन्दा चैते धान बढी उत्पादन हुने भएकाले यसको उत्पादनमा जोड दिइएको बताउनुभयो ।
चैते धानको माउ बीउको उत्पादन तथा विक्री गर्दै आउनुभएका धनुषाका अगुवा किसान संजय कुमार पजियारले चैते धानको उत्पादन वर्षेभन्दा निक्कै बढी हुने भएकाले यसप्रति किसानको आकर्षण बढ्न थालेको बताउनुभयो ।
उहाँले चैते धान उत्पादन हुने समयमा मौसम अनुकूल नहुने भएकाले धान बीउका लागि धान सुकाउनमा निक्कै समस्या हुने गरेको बताउनुभयो ।
अहिले चैतै धानको बीउ प्रति किलो ८० रुपैयाँमा बिक्री हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्