वित्त आयोगको कार्यसम्पादनमा सोलुदूधकुण्ड पहिलो

सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ । ६९.८ अङ्कसहित सोलुदूधकुण्डले जिल्लाका अरू स्थानीय तहलाई पछि पार्दै प्रथम भएको हो भने ६८.० अङ्क ल्याएको थुलुङदूधकोशी गाउँपालिका दोस्रो भएको छ ।
त्यस्तै, माप्यदूधकोशी गाउँपालिका ६३.० अङ्कसहित तेस्रो स्थानमा छ । खुम्बु पासाङल्हामु गाउँपालिका ६०.२ अङ्कसहित चौथो भएको छ । नेचासल्यान गाउँपालिका ५७.८ अङ्कसहित पाँचौँ, लिखुपिके गाउँपालिका ५६.२ ल्याएर छैटौँ महाकुलुङ गाउँपालिका ५३.४ सातौं र सोताङ गाउँपालिका ४९.८ अङ्कसहित आठौँ स्थानमा रहेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ । सोलुदुधकुण्ड नगरपालिका जिल्लामै पहिलो भएपछि आफूहरू सेवा प्रवाह तथा विकास निर्माण नियमसंगत रुपमा काम गरिरहेकोले प्रतिफल राम्रो आएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त प्रयासले सकारात्मक नतिजा आएको उहाँको भनाइ छ । स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे नगरेको लगायतको सूचक राखेको थियो ।







प्रतिक्रिया राख्नुहोस्