पुण्य प्राप्तिको लागि भीमेश्वरको दर्शन
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG20241013145823-1024x613.jpg)
दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले विश्वमा अवस्थित १२ ज्योतिर्लिङ्ग मध्य तेस्रो ज्योतिर्लिङ्ग, आदिशक्ति, महाशक्ति, दिव्यशक्ति दोलखा भीमेश्वर (भीमसेन) को दर्शन पश्चातमात्र अन्य मन्दिर तथा देवालयहरूको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास रही आएको प्रष्टाएको छ ।
संस्कृतविद् डा. जगमान गुरुङले अन्यथा अभिव्यक्ति दिएको उल्लेख गर्दै दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भीमेश्वरको दर्शन पश्चातमात्र अन्य मन्दिर तथा देवालयहरूको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास बारे उल्लेख गरेको हो ।
संस्कृतविद् डा. गुरुङले तथ्यहीन, आधारहीन, प्रमाण विहीन अभिव्यक्ति दिनु भएकोले कि उहाँको अभिव्यक्ति प्रमाणित गर्नुपर्ने अन्यथा माफी माग्नु पर्ने निर्णय दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले गरेको अध्यक्ष भरत श्रेष्ठले बताउनुु भयो ।
समितिको विज्ञप्तिमा विभिन्न धर्मग्रन्थहरूमा भीमसेनको अस्त्र गदा भएको उल्लेख गरिएको र भीमसेनले अन्य अस्त्र लिएको सम्बन्धमा हालसम्म कुनै कतै धर्मग्रन्थहरूमा उल्लेख नभएकोले भीमसेनको अस्त्र गदा रहेको पुष्टि हुने उल्लेख गरिएको छ । यस्तो सांस्कृतिक मान्यता रहेको अवस्थामा सैलुङको कुनै स्थानमा रहेको तरवार आकारको शिलालाई भीमसेनको तरवार भनि सम्बोधन गरी जसको दर्शन पछिमात्र दोलखा भीमेश्वरको दर्शन गर्न जानु भन्ने कुरा तथ्यविहीन, संस्कृतिविहीन, आधारविहीन रहेको विज्ञप्तिमा उल्लेख छ । तथ्य, संस्कृति र आधारविहीन अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अध्यक्ष भरत श्रेष्ठ बताउनुु हुुन्छ ।
भीमेश्वरको बारेमा डा. जगमान गुरुङको अभिव्यक्ति आपत्तिजनक र भ्रामक रहेको भन्दै स्थानीय अजय प्रधान, शिवजी प्रधान र नरेन्द्र श्रेष्ठको पहलमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । डा. गुरुङलाई आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी माग्न भन्दै सङ्कलित हस्ताक्षर भीमेश्वर नगरपालिका वडा नम्बर– २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ मार्फत पठाइएको अजय प्रधानले बताउनुभयो ।
विश्व भविष्य सूचकको रुपमा आफ्नो शिलामा पसिनाद्वारा हरेक मानवलाई सचेत गराउने जीवित भगवानको रुपमा पुजिँदै आएको भीमेश्वरको महिमा अपरम्पार रही आएको समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २३ पटक पसिना आइसकेको स्थानीयको भनाई छ । पछिल्लो पटक २०८१ साउन ९ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४, २०७८ मा पनि पसिना आएको स्थानीय ज्येष्ठ सदस्यहरु को भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्