तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्डमा आकर्षण प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ । खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ ।  

आइतबारदेखि सुरु भएको खेलकुद महोत्सव बुधवारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा (मस्कट) निर्माण गरिएको छ । सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ ।  

धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पहिलो पटक देख्नेहरूका लागि विशेष आकर्षण भएको छ । यहाँ पुग्ने जो कोही पनि यसको अगाडि तस्बिर खिच्न तथा टिकटक भिडियो बनाउन उत्साहित देखिन्छन् । हाल सामाजिक सञ्जालहरूमा समेत सिलाम साक्माले व्यापक चर्चा पाएको छ ।  

बाँस र धागो प्रयोग गरेर वर्गाकार आकारमा निर्मित सिलाम साक्माको उचाइ र चौडाइ ५४ फिट रहेको छ । विभिन्न आकारका सिलाम साक्मा प्रदर्शन तथा प्रचारका लागि राखिएको छ । भाटा प्रयोग गरी करिब एक हजार ५०० किलोग्राम तौलको सिलाम साक्मा निर्माण गरेर प्रवेशद्वार (गेट) बनाइएको हो । प्रतियोगितामा सहभागी विद्यार्थी, खेलाडी तथा शिक्षकलाई सिलाम साक्माको महत्त्व बुझाउन यो प्रतिमा निर्माण गरिएको निर्देशक छेटु लामा तामाङले बताउनुभयो ।  

फुङ्लिङ नगरपालिका–४ का सिलाम साक्मा उत्पादक कृष्ण लिम्बूका अनुसार लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो, र ‘साक्मा’ को अर्थ छेक्नु हो, अर्थात् “मृत्युको बाटो छेक्ने” भन्ने अर्थ व्यक्त गर्दछ । उहाँले भन्नुभयो, “सिलाम साक्मामा नौ वटा रेखी हुन्छन् । सेतो, रातो, र कालो रङ्गका धागो अनिवार्य रूपमा प्रयोग गरिन्छ ।” पछिल्लो समय सिलाम साक्माको माग बढ्दै गएको र महोत्सव तथा कार्यक्रममा अतिथिलाई स्वागत ब्याजको साटो यसको प्रयोग हुन थालेको लिम्बूले बताउनुभयो । यसबाट राम्रो आम्दानीसमेत भइरहेको छ ।  

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले सिलाम साक्माले सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुर्याएको बताउनुभयो । सिलाम साक्माको प्रचारप्रसारका लागि नै यसको प्रतिमा निर्माण गरिएको उहाँको भनाइ छ । सिलाम साक्माको प्रयोगले मौलिक पहिचान प्रवर्द्धनसँगै पर्यटन विकासमा समेत योगदान पुगेको छ ।  लिम्बू समुदायका धार्मिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र धागो प्रयोग गरी सिलाम साक्मा निर्माण गर्ने परम्परा छ । लिम्बू मुन्धुमअनुसार, सिलाम साक्माले दिवङ्गत आत्माको बाटो छेक्ने विश्वास गरिन्छ । साथै, जीवित व्यक्तिको दिनचर्या सुखमय बनाउने, स्वास्थ्य, स्फूर्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने जनविश्वास रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button