‘अहिलेको संविधानले निमुखा जनतालाई राज्यको मूलधारमा ल्याएको छ’
वीरगन्ज । गृह मन्त्री रमेश लेखकले अहिलेको संविधानले निमुखा जनतालाई राज्यको मूलधारमा ल्याएको र सङ्घीयता, समावेशी र लोकतान्त्रिक पद्धति बलियो बनाएको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज वीरगन्जमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सात दशकमा सात वटा संविधान फेरेर बल्ल जनपक्षिय संविधान बन्न सकेको दाबी गर्नुभयो ।
उहाँले यो संविधान असफल भयो भने देश गम्भीर खतरामा पर्ने बताउँदै संविधान रक्षाका लागि नेपाली काँग्रेस सशक्त रूपमा उभिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री लेखकले केही शक्तिहरू काँग्रेसलाई कमजोर बनायो भने संविधान समाप्त पार्न सकिन्छ भन्ने षडयन्त्रमा लागेको बताउनुहुँदै कानुन कार्यान्वयन, अपराध नियन्त्रण र मुलुकमा सुशासन स्थापनाका लागि गृह मन्त्रालय जुटिरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले वीरगन्जमा खानेपानीको समस्यासँगै हैजा सङ्क्रमण नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी परिचालन गरिने बताउँदै जुनसुकै हालतमा पनि हैजा नियन्त्रणमा लिइने बताउनुभयो ।

कार्यक्रममा कानुन न्याय तथा सङ्घीय मामिला मन्त्री अजय चौरसीयाले संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारालाई फुकाएर अगाडि बढ्ने सम्बन्धमा सरकारले संविधान संशोधनका लागि गृहकार्य गरिरहेको बताउनुभयो ।
उहाँले उपभोक्ता संरक्षण ऐन २०७४ कार्यान्वयनमा आइसकेको र उपभोक्ता अदालतको स्थापनाको काम समेत अगाडी बढिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले मुलुकमा लोकतन्त्र आएपछि आमूल परिवर्तन भएको र स्वास्थ्य शिक्षा र पूर्वाधारको क्षेत्रमा मुलुकले ठुलो फड्को मारेको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस पर्साका सभापति एवं मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, पूर्व मन्त्री सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, वरिष्ठ उद्योगपति अशोक वैद्य लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्