गण्डकी बोर्डिङ स्कुललाई तेस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि
पोखरा । पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको तेस्रो संस्करणको इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ ।

पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको शनिवार पोखरा सभागृह हलमा सम्पन्न प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटार वादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो ।
प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डायमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो ।
उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताउनु भयो ।
‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक तेज केसीले बताउनुभयो । प्रतियोगिताको निर्णायकमा असीम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहनुभएको थियो । विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
शुक्रवार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्