तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गर्नुभएको छ । 

सो अवसरमा अध्यक्ष दाहालले माओवादीले तत्कालीन अवस्थामा सुरु गरेको सशस्त्र विद्रोहमा स्वर्गीय टङ्कमणिको अतुलनीय योगदान रहेको बताउनुभयो । दिवङ्गत नेता टङ्कमणिबाट पार्टीले धेरै लिए पनि केही दिन नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले उहाँलाई जटिल र जोखिम दिइन्थ्यो, उहाँ आफै पनि खोजेर त्यो लिनुहुन्थ्यो ।” टङ्कमणिले सधैँ गुमनाम तरिकाले जिम्मेवारी पूर्वक काम गर्ने गरेको उहाँको भनाइ थियो । 

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुआतदेखि नै भूमिगत रहेर काम गरेका टङ्कमणिको २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएको हो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा रुपन्देहीको इन्चार्जको समेत जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।

सहिद स्मृति प्रतिष्ठान रुपन्देहीको परिसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष टङ्कमणिको सालिक निर्माण गरिएको हो । सो अवसरमा अध्यक्ष दाहालले पुस्तक समेत विमोचन गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button