‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह
![](https://radionepalonline.com/wp-content/uploads/2025/01/Health-Ministry-of-nepal.jpg)
काठमाडौँ । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खोप विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसकेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन । यो सुरक्षित र प्रभावकारी भएकाले ढुक्कले लगाउन अनुरोध छ ।”
फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको समेत शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । “खोपबाट कोही नछुटुन् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनक रूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन”, उहाँले भन्नुभयो ।
डा गौतमकाअनुसार आजसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएका छन् । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान माघ २२ गतेदेखि सुरु गरिएको हो ।
प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ७१ दशमलव एक प्रतिशत, मधेसमा ४१ दशमलव चार, बागमतीमा ६० दशमलव आठ र गण्डकीमा ७१ दशमलव तीन प्रतिशत खोप लगाइएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६८ दशमलव छ, कर्णालीमा ६३ दशमलव छ, सुदूरपश्चिममा ७५ दशमलव १ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलव १ प्रतिशत खोप कभरेज भएको शाखाको उपलब्ध तथ्याङ्कमा छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब १७ लाख अर्थात् १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा छदेखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदै छ । रासस
प्रतिक्रिया राख्नुहोस्