स्वास्थ्य मन्त्रालयका सचिवद्वारा डडेल्धुरा अस्पतालको निरीक्षण

डडेल्धुरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डडेल्धुरा अस्पतालको सोमबार निरीक्षण गर्नुभएको छ ।
अस्पतालका समस्या र सम्भावनाका विषयमा केन्द्रित भएर गरिएको निरीक्षण पछि सचिव पोखरेलले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जर्मनी सरकारको सहयोगमा निर्माण भएको डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण कार्यक्रमका लागी डडेल्धुरा आईपुग्नु भएका सचिव पोखरेलले अस्पतालको बृहत्तर हितका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको हो ।

डडेल्धुरा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी परिपूर्ति गर्न नसक्नु,आवश्यक भवन निर्माणका लागी बजेट नहुनु र तिन सय शय्याको अस्पतालको (ओएनएम) सर्वे पास हुन नसक्नु लगायतका समस्याहरू रहेकाले पहल गरिदिन मन्त्रालयका सचिवलाई आग्रह गर्नुभएको थियो । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा बिस्तारमा निकै समस्या आइरहेको भन्दै यथाशीघ्र पहल गरिदिन हुन आग्रह गर्नुभएको थियो । निरीक्षण पश्चात् सचिव पोखरेलले डडेल्धुरा अस्पतालको दरबन्दीमा रहेका तर अन्य ठाउँमा काजमा बसेकाहरू छिट्टै काज फिर्ता गरेर पठाइने आश्वासन दिनुभएको छ ।
तीन सय शय्याको अस्पताल निर्माणका लागि ओएनएम सर्वे भई फाइल अर्थ मन्त्रालयमा पेश गरिएको भएपनि अहिलेसम्म पास हुन नसकेको भन्दै पहलका लागि सबै ठाउँमा लाग्नुपर्नेमा उहाँको जोड थियो । मेरो प्रयास र प्रयत्नले मात्रै सम्भव हुँदैन यसमा राजनीतिक पहुँच आवश्यक हुन्छ पोखरेलले भने- राजनीतिक क्षेत्रबाट दबाब सिर्जना गर्न सके सम्भव हुने बताउनुभयो ।



प्रतिक्रिया राख्नुहोस्