नेपाली आरोही पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखर आरोहण

काठमाडौँ । नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गर्नुभएको छ ।
नेपाली पर्वतारोही पाण्डेले यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गर्नुभएको हो ।
आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहान ७ः५० बजे चन्द्र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराउनुभएको थियो।
सातै महादेशका सर्वोच्च शिखरहरूको आरोहण गर्ने अभियान अन्तर्गत पर्वतारोही पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गर्नुभएको थियो ।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उहाँको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उहाँको यो ११ औँ आरोहण हो ।
उहाँ २०२२ देखि यस अभियानमा हुनुहुन्छ । यस अभियानमा उहाँसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि रहनुभएको छ। अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहनुभएका पर्वतारोही तामाङले सात पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।
आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढ्नुभएको थियो भने पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसक्नुभएको छ । उहाँले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसक्नुभएको छ ।

उचाई धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताउनुभयो । उक्त क्षेत्रमा छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन महशुस गरेको उहाँले बताउनुभयो । पाण्डेले मकालु आउटफिटको ब्राण्डमा हिमाल आरोहण गर्दै आइरहनुभएको छ ।
संसारमै विशेष झण्डाको रुपमा रहेको त्रिकोणकार नेपाली झण्डासहित आफु संलग्न युवा अभियान नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरूको झण्डा पनि ती संस्थाहरूको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।
हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउनुभएका पाण्डेले सो सम्बन्धमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया पनि गरेको बताउनुभयो । जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उहाँले बताउनुभयो ।
जलवायु परिवर्तनका लागि जिम्मेवारी नगन्य रहे पनि यसको असरले गरिब देशहरू गरिबीको दुष्चक्रमा झैँ फस्ने उहाँको भनाई छ । यसबाट बाहिर निस्कन हामीले हाम्रो जीवन पद्धति बदल्न तयार रहनुपर्ने समेत उहाँको राय छ । आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाको बीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उहाँको विश्वास छ ।
उहाँले सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो । “संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो”, पाण्डेले सुनाउनुभयो।
सन् २०१८ मा पहिलो पटक सगरमाथा चढ्नुभएका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना पनि सुनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्