एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदानको ६० प्रतिशत काम पुरा
रुपन्देही । रुपन्देहीमा निजी लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान करिब ६० प्रतिशत काम पुरा भएको छ ।

तिलोत्तमा नगरपालिकाको दरखसहवामा पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित ०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान तीव्र गतिमा काम भइरहेको एक्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुँवरले बताउनुभयो । धेरै चुनौतीका बाबजुद काम नरोकिएको उहाँले बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देही शाखाले शुक्रबार गरेको पत्रकार भेटघाटमा उहाँले २० महिनाको अवधिमा ६० प्रतिशत बढी काम भएको बताउँदै निर्धारित पाँच वर्षअघि नै मैदान पूर्ण रुपमा तैयार हुने बताउनुभयो । मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भइरहेको, चार–चार तलाको २ वटा भवन (भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहित) निर्माण भइरहेको छ ।
जग्गा बाहेक गरी ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको मैदानमा आधाआधी लगानी भैसकेको उहाँले बताउनुभयो ।
निर्माणका चरणमा अहिले पनि सामान्य खेलहरू नियमित भइरहेको भन्दै उहाँले क्यानका अधिकांश गतिविधिहरू यहाँ गरिँदै आएको बताउनुभयो ।
मैदानका निर्देशक सूर्य कुँवरले यो मैदानमा गत वर्षको फागुन यता एक सयभन्दा बढी खेल भैसकेको जानकारी दिनुभयो ।
अस्ट्रेलियामा व्यवसाय गर्ने गुल्मीका कुँवरले व्यक्तिगत लगानीमा यहाँ क्रिकेट मैदान बनाउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्