नागी–पान्धारे जोडने कालोपत्रे सडक निर्माण कार्य सुरु

भोजपुर । भोजपुरको पश्चिम टेम्के मैयुङ्ग गाउँपालिकाको नागी देखि पान्धारे जोडने कालोपत्रे सडकको निर्माण कार्य सुरु गरिएको छ ।
सडकको शिलान्याससँगै निर्माण कार्य थालिएको हो ।
टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर चार नागीदेखि खाँवा, कोट, गोगने, लेखर्क जोड्ने सडकको निर्माण कार्य बिहीबारबाट सुरु भएको हो ।
सडकमा आक्सपाल्ड कालोपत्रे हुने छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पालिका भित्रका वडाहरूलाई पनि सडक सञ्जालमा जोडने गरी निर्माण कार्य थालिएको बताउनुभयो ।
“गाउँपालिका भित्रका चारदेखि नौ नम्बर वडासम्मका नागरिकलाई यो बन्ने सडकले प्रत्यक्ष लाभ मिल्छ ।” , अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले विकासको मुल आधार सडक पनि भएकाले पालिकाले सोही अनुरुप अहिले सडक निर्माणमा पनि ध्यान दिइरहेको बताउनुभयो ।

सडक निर्माणको जिम्मा मार्सेली–सिप्तुङ–लाइट जेभीले पाएको छ । तोकिएको समय भित्रमा नै काम सम्पन्न हुने गरी काम गरिने निर्माण व्यवसायी बालम राईले बताउनुभयो । यही आर्थिक बर्ष भित्रमा भने डेढ किलोमिटर सडक सम्पन्न हुने छ ।
नौ वटा वडा रहेको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर चार नागी, पाँच खाँवा, छ र ७ मा पर्ने कोट, आठ गोगने र नौ नम्बर वडा लेखर्क यो सडकले लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।
स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय इटहरी मार्फत सडक बन्न लागेको हो ।
भ्या सहित रु.दुई करोड ६१ लख ७१ हजार छ सय ३१ रुपैयाँ ४५ पैसा सडक निर्माणको बजेट रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्