तपाईँ सुन्दै हुनुहुन्छः

झाडी फाँडेर सुन्तला बगान

म्याग्दी I कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैँचा बनाउने सोच आयो । 

बेनीमा पोल्ट्रि र घरजग्गा व्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।  

“बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैँचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाइसराइ गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैँचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । 

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् । 

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु. तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । 

“यसपाली रु. १५ लाखको सुन्तला बिक्री भयो,” उहाँले भन्नुभयो “कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैँचा किनेर फार्म विस्तार गरेको छु ।” 

दिवङ्गत हजुरबुवा सूर्यनारायण श्रेष्ठको  जीवनबाट प्रभावित भएर कृषि व्यवसायमा जोडिएको विकासले बताउनुभयो । उहाँको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ । 

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो । काठमाडौँको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । 

घरजग्गा ब्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ कृषकहरूका लागि उदाहरणको पात्र बन्नुभएको छ । 

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरू फर्किएर सुन्तला खेती गर्न थालेका बताउनुभयो । “उहाँ (विकास)ले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भन्नुभयो “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरू गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।” 

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरू बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगैँचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा व्यवसायीहरू आउने गरेका छन् । उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैँचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । 

समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताउनुभयो । गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु. एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button