तपाईँ सुन्दै हुनुहुन्छः

सबैको सहभागितामा संविधान संशोधन हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

बीरगंज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १० वर्षे संविधान कार्यान्वयनको अवस्थामा आएका समस्याहरूलाई समीक्षा गर्दै सबैको सहभागितामा संविधान संशोधन गरिने बताउनुभएको छ । 

नेकपा एमाले पर्साद्वारा आज वीरगन्जमा आयोजित जिल्ला स्तरीय वडा केन्द्रित ३ महिने अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकार देशमा चरम निराशालाई चिर्दै राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताउनुभयो । 

उहाँले हाल मुलुकमा अस्थिरताको राजनीति गर्नेहरू छटपटाइरहेको बताउँदै नेकपा एमालेले जनताको विश्वास जित्न सफल हुने र आगामी ०८४ को निर्वाचनपछि एकल बहुमतको सरकार बनाउने दाबी गर्नुभयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारी प्रकरणमा मुछिएका जो कोहीलाई पनि नछाड्ने गरी सरकारले काम गरिरहेको बताउँदै सहकारीमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाडिने दाबी गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले २०८४ को निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । 

नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, एमाले पर्साका इन्चार्ज एवं सांसद प्रभु हजारा लगायतका नेताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, केन्द्रिय सदस्य निर्मला देवकोटा, अरविन्द सिंह लगायत नेकपा एमालेका जिल्ला, नगर, पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, जनसङ्गठनका जिल्ला पदाधिकारी, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button