तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका सेवा निवृत्त कर्मचारीहरूलाई बिदाइ तथा सम्मान 

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यरत ५ जना सेवा निवृत्त कर्मचारीहरूलाई बिदाइ तथा सम्मान गरिएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा इन्जिनियरिङ महाशाखाका उपनिर्देशक पुरुषोत्तम मानन्धर, प्राविधिक अधिकृत मोहन काफ्ले, प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेशका प्राविधिक अधिकृत पुष्पराज बराल, टाइपिष्ट भरत सिलवाल  र कार्यालय सहयोगी चूडामणि पाण्डेयलाई बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सेवा निवृत्त कर्मचारीहरूले संस्थालाई आजसम्म ल्याइ पुर्‍याउन गर्नुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थालाई उहाँहरूको खाँचो पर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यकारी अध्यक्ष डा. बिष्टले विगतमा संस्थालाई अगाडि बढाउन लगनशील र जिम्मेवार भएर सेवा निवृत्त कर्मचारीहरूले निर्वाह गरेको भूमिका आउँदा दिनमा पनि सार्वजनिक सेवा प्रसारण नेपालले लिएको उद्देश्य पूरा गर्न उहाँहरूको साथ सहयोग र अनुभव संस्थालाई आवश्यक पर्ने बताउनुभयो ।

उहाँले पिएसविको सेवालाई सबैको पहुँचमा निःशुल्क रुपमा पुर्‍याउन प्राविधिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने र संस्थालाई सकारात्मक ऊर्जाका साथ अगाडी बढाउन सेवा निवृत्त कर्मचारीबाट विभिन्न सुझाव र सहयोगको अपेक्षा गर्दै उहाँहरूलाई पनि आवश्यक सहयोग गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले आगामी दिनमा पनि संस्थालाई आवश्यक परेको अवस्थामा सहकार्य गरेर अगाडी बढ्न सेवा निवृत्त कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।  ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विकास क्रमलाई अगाडी बढाउन सेवा निवृत्त कर्मचारीहरूको भूमिका उदाहरणीय रहेको भन्दै आगामी दिनमा उहाँहरूले देखाउनुभएको बाटोमा संस्थालाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले सेवा निवृत्त कर्मचारीहरूले अन्य विभिन्न क्षेत्रमा अवसर पाउँदा पनि रेडियो नेपाललाई नै रोजेर संस्थालाई अगाडि बढाउन देखाउनुभएको लगनशीलता र इमानदारीको प्रशंसा गर्नुभयो ।

सेवा निवृत्त कर्मचारीहरूका तर्फबाट उपनिर्देशक पुरुषोत्तम मानन्धरले रेडियो नेपालमा रहेर काम गर्न पाउँदा आफूलाई गर्व महशुस भएको र आउँदा दिनमा संस्थालाई आफ्नो ज्ञान र सीपको आवश्यकता परेमा सहकार्यका लागि आफु सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेवा निवृत्त हुनुभएका कर्मचारीहरूलाई कदरपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button