बेमौसमी मकैखेतीमा किसानकाे आकर्षण
बीरगंज । पर्सा-बारा जिल्लाका किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका छन् । पर्सा बारामा प्राय सबै महिना उत्पादन हुनेगरी किसानहरुले बेमौसमी मकैखेती गर्दै आएका छन् ।
बिशेषगरि जाडो याममा हरियो मकैको माग बढिहुने र उचित मूल्यमा बिक्रीसमेत हुँदा किसानहरु बेमौसमी मकैखेती तर्फ आकर्षित भएका हुन् ।
अहिले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा मात्र दुई सय बिगाह भन्दाबढी क्षेत्रमा बेमौसमी मकैखेती गरिएको छ । पर्सागढी नगरपालिका वडा नम्बर ३ र ४ मा मुख्यतः किसान हरुले व्यावसायिक रुपमा मकै खेती गरेका छन् ।
वडा नम्बर -३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करिब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिगाह जग्गामा मकैखेती गरिएको छ ।
पर्सागढी नगरपालिका कार्यालय कृषि शाखा सहायक प्रमुख खड्गबहादुर खत्रीले दुईवटा वडामा बढी मात्रामा बेमौसमी मकैखेती हुने गरेको र बाँकी वडाहरूमा छिटपुट मकैखेती गरी दुई सय बिगाह बढी मकैखेती भएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, पर्साका अनुसार गत आर्थिक वर्षमा जिल्लाभरिमा ४ हजार १८९ हेक्टरमा मकैखेती गरिएको थियो भने १७ हजार १६६ मेट्रिकटन मकै उत्पादन भएको थियो । यो जिल्लामा हुने बालीमध्ये ४.१० प्रतिशत हो ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा मकैखेती बढी भएको र उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । केन्द्रले यस वर्ष ४ हजार २२० हेक्टर जमिनमा मकैखेती गरिएको र १७ हजार ३७८ मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरेको छ । यस वर्ष कुल बालीमध्ये मकैखेती ४.१२ प्रतिशत हुने अनुमान केन्द्रको छ ।
प्रतिक्रिया राख्नुहोस्