तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा ‘सरोकार दर्पण’ पुस्तक सार्वजनिक

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समितिको गतिविधि, प्राप्त उपलब्धी, देखिएका समस्या, चुनौती र आगामी कार्यभार समेटेर ‘सरोकार दर्पण’ पुस्तक सार्वजनिक गरेको छ । 

संघीय संसद् सचिवालयमा आज सरोकार दर्पण पुस्तक विमोचन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समितिले प्रकाशन गरेको पुस्तक राष्ट्रिय सभा र समिति मार्फत भएका कामहरूको दस्तावेजीकरण गर्न महत्वपूर्ण भएको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले सभाका चारवटै समितिले गम्भीरताका साथ काम अगाडी बढाएको भन्दै सङ्घीयताको सबलीकरण गर्ने, यसलाई बलियो बनाउन कानुन निर्माण गर्ने, सरकारलाई निर्देशन दिने र भएका कामहरूको अनुगमन गर्नेतर्फ काम भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सङ्घीयताको सबलीकरण, सगरमाथा र हिमालहरूको संरक्षण, जलवायु परिवर्तन, प्रकृतिको संरक्षणलगायतका काममा राष्ट्रियसभाका समितिहरू गम्भीरतापूर्वक अगाडि बढ्ने विषय महत्वपूर्ण हुने बताउनुभयो ।   

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले थप विमानस्थल निर्माण, भएका विमान स्थलको स्तरोन्नति र व्यवस्थापन, टावर निर्माण, पर्यटन पदमार्ग निर्माण जस्ता थुप्रै आयोजनाहरू मन्त्रालयमा रहेको भन्दै यसको प्राथमिकिकरण गरेर अगाडी बढ्ने र बजेट व्यवस्थापनका लागि राष्ट्रिय सभाले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, पूर्व सांसद राधेश्याम अधिकारी, समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा, समितिका पूर्व सभापति दिल कुमारी रावल थापा पार्वती, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले समितिले सार्वजनिक गरेको पुस्तक समिति मार्फत ६ वर्षमा भए गरेका कामहरू समेटिएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button