तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन : मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । 

मदाने गाउँपालिका वडा नं.६ गुल्मीमा रहेको कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविष्य निर्धारण गर्न महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले यो आयोजनालाई तीन तहका सरकारले साझा योजनाको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेशभित्रका प्रमुख धार्मिकस्थल, पुरातात्त्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक सर्किट निर्माण गरिने बताउनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

“हाम्रो प्रदेश मिनि नेपालको रुपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भूगोल छ । पुरातात्त्विक सम्पदाहरूको संरक्षण गरेर पर्यटकहरूलाई भित्र्याउने मुख्य सङ्कल्प छ”, उहाँले भन्नुभयो, “समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएका छौँ । यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रशस्त आधारहरू छन् ।” 

उहाँले पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको, सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसँग सहकार्य गरेर प्रदेश सरका अघि बढ्ने बताउनुभयो। “हामी पर्यटनलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहन्छौँ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रशस्त रोजगारीको अवसर सृजना गर्न सकिन्छ । कतिपय भइरहेको पनि छ ।” मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिँदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालगायतको विशेष उपस्थिति थियो । 

अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button