मधेश प्रदेशमा क्यान्सर रोग विरुद्धको एचपिभि खोपको सम्पूर्ण तयारी पूरा
जनकपुरधाम । यही २२ गते देखि क्यान्सर रोग विरुद्धको किशोरीलाई दिने खोप अभियानको सम्पूर्ण तयारी मधेश प्रदेशमा पुरा भएको छ ।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश समन्वय बैठकमा पाठे घरमा लाग्ने क्यान्सर रोगका कारणले नेपालमा २४ घण्टामा ४ जना महिलाको मृत्यु भइरहेको बेलामा सञ्चालन हुन लागेको खोप कार्यक्रम क्यान्सर रोगलाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण हुने भएको छ । १० वर्ष देखि १४ वर्षको सबै किशोरीहरूलाई खोप दिन थालेकाले खोप लिनका लागि सबै प्रदेशवासीमा स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले जानकारी दिनु भएको हो ।
उहाँले खोप सहितका अन्य आवश्यक सामाग्रीहरू मधेश प्रदेशका सबै जिल्लाहरूमा पठाउने काम भइसकेको बताउँदै यो खोप निक्कै महँगो हुनुका साथै महत्वपूर्ण भएकाले खोप लिनबाट कोही पनि किशोरी नछुटुन् भन्ने तर्फ अभिभावक तथा शिक्षक सचेत रहन जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका जिल्लाहरूमा रहेका ३ हजार ३ सय २५ सामुदायिक तथा संस्थागत विद्यालय र विद्यालय बाहिर रहेका ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सर रोगका विरुद्धमा एचपिभि खोप दिन लागेको स्वास्थ्य निर्देशनालयका खोप संयोजक खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनु भयो ।
पहिलो पटक नेपाल भरि एक साथ १० वर्ष देखि १४ वर्षका किशोरीहरूलाई दिन थालेको उक्त खोप पूर्ण रुपमा सुरक्षित तथा ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी भएकाले निर्धक्क भएर खोप लिनका लागि आग्रह गर्दै यो खोप लगाएपछि पाठे घरमा लाग्ने क्यान्सर पूर्ण रुपमा रोकिने राष्ट्रिय खोप समन्वय समितिका सदस्य समेत रहनु भएका प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले जानकारी दिनु भयो ।
राष्ट्रिय खोप समन्वय समितिका सदस्य एवं वरिष्ठ चिकित्सक डा. गरिब दासले एचपिभि खोप निक्कै महँगो, प्रभावकारी एवं सुरक्षित रहेकाले निर्धक्क भएर खोप लिनका लागि आग्रह गर्दै यो खोपको एक डोज लिएपछि क्यान्सर रोग लाग्नबाट जोगिने भएकाले खोजी खोजी लिनका लागि आग्रह गर्नुभयो ।
बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आफूले स्थानीय तहहरूलाई सजग बनाउनुका साथै सफल बनाउनका लागि सबै प्रकारको सहयोग गर्ने बताउनु भयो । सभापतिको आसनबाट बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले एचपिभि खोप कार्यक्रम सफल बनाउनका लागि आग्रह गर्दै कसैले दुरुपयोग गरेको पाइए कारबाही हुने बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्