भित्ते मिथिला चित्रकला संरक्षणको प्रयास शुरु
जनकपुरधाम । मिथिलाञ्चल सहित ग्रामीण क्षेत्रमा पहिला पहिला घरको भित्तामा कोरिने मिथिला चित्रकला लोप हुन थालेपछि यसको संरक्षण गर्ने अभियानको शुरु भएको छ ।
खास गरेर ग्रामीण क्षेत्रमा कच्ची घरको निर्माणमा कमी भएर अधिकांश व्यक्तिले पक्की पक्की घर बनाउन थालेपछि भित्तामा कोरिने परम्परागत चित्रकला रोप हुन थालेपछि जनकपुरधामको प्रसिद्ध नारी विकास केन्द्र कुँवाले यसको संरक्षणमा लागी परेको छ । जनकपुरधामको वडा नंं १५ कुवामा रहेको नारी विकास केन्द्रका महिला चित्रकारहरू भित्तामा कोरिने परम्परागत मिथिला चित्र कला बनाउने कार्यमा सक्रिय हुनु भएको छ ।
ग्रामीण जनजीवनलाई चित्र मार्फत वर्णन गर्ने यो चित्रकला अहिले लोप हुन थालेपछि नारी विकास केन्द्र कुँवा पुग्ने मार्गमा पर्ने विभिन्न व्यक्तिहरूको १० वटा घरको भित्तामा मिथिला चित्रकला कोर्ने काममा नारी विकास केन्द्रका महिला चित्रकारहरू लागी परेका छन् । चित्रकारहरूले चित्रकला कोर्दा परम्परागत रङ्गको प्रयोग गरेर मात्र चित्र कोरिरहेका छन् । जनकपुरधाममा रहेको नारी विकास केन्द्रमा अहिले पनि ४० भन्दा बढी महिलाहरू मिथिला चित्रकलाका कार्यमा सक्रिय रहनु भएको छ ।
खास गरेर परम्परागत चित्र कलाको संरक्षण गर्नका लागि जनकपुरधामको वडा नंं १५ कुवामा चित्रकला कोर्ने काम भइरहेको वरिष्ठ मिथिला चित्रकलाका प्रशिक्षक समेत रहनु भएका मंजुला ठाकुरले बताउनु भयो । उहाँ मिथिला चित्रकलाका प्रशिक्षक हुनुका साथै यसै मार्फत देश विदेशको अनुभव पनि हाँसिल गर्नु भएको छ ।
भित्ते चित्रकला कोर्नमा सक्रिय रहनु भएकी अर्का चित्रकार मधुमाला मण्डलले घरको भित्तामा कोरिएको चित्रकलामा ग्रामीण जनजीवनको जीवन्त चित्रण भएकाले यसको संरक्षण हुन जरुरी छ । गाउँ गाउँमा अहिले पक्की घरको निर्माण गर्ने प्रचलन बढेकाले भित्ते चित्र कला लोप हुन थालेपछि नारी विकास केन्द्र कुँवा जनकपुरधामले यो कदम चालेको बताउनु भयो । यसले नयाँ पुस्ताका युवाहरूलाई भित्ते चित्रकाका विषयमा जानकारी मिल्ने विश्वास गर्नु भयो । आफूहरूले थालेको कामबाट भित्ते चित्रकलाको प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास वरिष्ठ मिथिला चित्रकार ठाकुरको रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्