लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको छ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई बिहीबार दाङको भालुबांगमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको भन्नुहुँदै लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको बताउनुभयो ।
उहाँले सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “जनतामा खानेपानी पु¥याउन प्रदेश सरकारले सघन रुपमा योजनाहरूलाई अघि बढाएको छ”, उहाँले भन्नुभयो– “आधारभूत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सङ्कल्प सरकारले गरेको छ ।”
लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा रहेका छन् ।
१५ लाख ७ हजार ६ सय ६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ । २ लाख ३७ हजार ३ सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्ष २०८१÷०८२ मा एक हजार तीन सय ९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ । अघिल्ला सरकारको पालनामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना प्रदेश सरकारले बनाएको छ ।
साथै मुख्यमन्त्री आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा महिलाको सहभागिता सुनिश्चित भए पनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।
शहरी क्षेत्रका खानेपानी संस्थामा महिलाको सहभागिता अर्थपूर्ण देखिए पनि ग्रामीण क्षेत्रका संस्थामा सहभागितामा मात्रै रहेको भन्दै उहाँले ग्रामीण क्षेत्रका संस्थाहरूमा पनि सशक्तीकरणको कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रतिक्रिया राख्नुहोस्