तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई 

बाँके । माघ २१गते मनाइने सरस्वती पूजाका लागि मूर्ति निर्माणमा मूर्तिकारहरू अहिले व्यस्त बनेका छन्। अरू बेला फुर्सदमा रहने मूर्तिकारहरू अहिले माटो, काठ, रङ, पराल, र कपडाको प्रयोग गरेर मूर्ति बनाउनमा तल्लीन देखिएका छन्।

बाँकेका कोहलपुर, नेपालगन्ज, जानकी, डुडुवा, र खजुरा क्षेत्रमा करिब ३०–३५ ठाउँमा मूर्ति निर्माण कार्य भइरहेको छ। मूर्तिकार छोटु केवटले पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले मूर्ति बनाउँदै आएको बताउनुभयो। उहाँले यस वर्ष २१ वटा मूर्ति निर्माण गरिसकेको र ती मूर्ति प्रतिगोटा रु ३,००० देखि १५,००० सम्म बिक्री भइरहेको जानकारी दिनुभयो।

३५ वर्षदेखि मूर्ति निर्माणमा सक्रिय अर्का मूर्तिकार हरिराम हरिजन ले यस वर्षका लागि पाँच हजारदेखि ३० हजार रुपैयाँसम्मका मूर्ति बनाएको बताउनुभयो ।उहाँका अनुसार, एउटा मूर्ति तयार गर्न चार जनाको पाँचदेखि १० दिनको समय लाग्छ। हरिजनको मुख्य पेशा नै मूर्ति बनाउने हो र उहाँले आवश्यकताअनुसार विभिन्न ठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेका छन्।

कतिपय मूर्तिकारहरूले स्थानीयलाई रोजगारी समेत दिएका छन्। मूर्ति बनाउन माटो, काठ, रङ, पराल, र कपडा मुख्य सामग्रीका रूपमा प्रयोग हुन्छ। सरस्वती पूजाका लागि बनाइएका मूर्ति विद्यालय, घर, र अन्य धार्मिक स्थानमा स्थापना गरी विद्यार्थी र साधकहरूले पूजाआजा गर्ने प्रचलन छ।

सरस्वती पूजाका लागि मूर्ति निर्माणले स्थानीय व्यवसायी र मूर्तिकारहरूलाई आम्दानीको अवसर सिर्जना गरेको छ। मूर्तिहरू पूजाको दिनको मुख्य आकर्षण बनिरहेका छन्, जसले धार्मिक र सांस्कृतिक गतिविधिलाई जीवन्त राख्ने कार्य गरिरहेको छ।

‘आवश्यकताअनुसार मूर्ति बनाएर बिक्री गर्दै आएको छु। मूर्ति निर्माणमा लाग्ने समय र खर्चका कारण मूल्य फरक(फरक हुने गर्छ, ‘ मूर्तिकार हरिजनले भन्नुभयो।

सरस्वती पूजाको तयारीले मूर्तिकारहरूको व्यस्ततालाई मात्र होइन, धार्मिक वातावरणलाई पनि अझ चहलपहलपूर्ण बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button