तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १३ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

अछाम । सरकारले अभियानका रुपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत अछाममा १३ हजार ९ सय २१ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्लाका ९१ वटै वडामा रहेका १ सय ६१ वटा विद्यालय र ९७ वटा विद्यालय भन्दा बाहिरका संस्थामा गरि २ सय ५८ खोप केन्द्र सञ्चालन गरि खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले आयोजना गरेको एचपिभी खोप अभियान तथा समग्र स्वास्थ्य अवस्था सम्बन्धि पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अभियानको बारेमा जानकारी गराइएको थियो । यहीँ माघ २२ गते देखि २६ गते सम्म जिल्ला भरका १० देखि १४ बर्ष सम्मका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभएको छ । 

यो वर्ष अभियानकै रूपमा अघि बढाउने र आगामी वर्ष बाट नियमित खोपका रूपमा दिइने स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख  जैसीको भनाई रहेको छ ।

यो अभियान देशैभर सञ्चालन गरिने भएकाले जिल्लाका कुनै पनि किशोरीलाई यो अवसरबाट बञ्चित गराउन नहुने विषयमा छलफल गरिएको थियो । पत्रकार सँग भएको अन्तरक्रिया कार्यक्रममा एचपिभी खोपको परिचय, प्रभावकारिता र औचित्यका बारेमा जिल्ला जनस्वास्थ्य अधिकृत झपट प्रसाद ढुङ्गानाले प्रशिक्षण गराउनुभएको थियो ।

जनस्वास्थ्य निरीक्षक  ढुङ्गानाले नेपालले सन २०३० भित्र नेपालबाट क्यान्सर रोग निवारण गर्ने अभियान अन्तरगत सरकारको पहिलो अभियान प्रारम्भिक १० देखि १४ वर्षका किशोरीलाई खोप दिने अभियान सुरु भएको बताउनु भयो । यो अभियान सुरु भएसँगै दोस्रो चरणमा हरेक महिलाले पाठेघर मुखको परिक्षण स्क्रिनिङ्ग गर्ने र तेस्रो चरणमा पाठेघर मुखको क्यान्सरको निदान भएका महिलाहरूको उपचार गर्ने लक्ष्य सरकारको रहेको ढुङ्गानाले जानकारी दिनु भयो ।

पछिल्लो समयमा महिलाहरूमा क्यान्सर रोगको जोखिम बढिरहेकाले क्यान्सर विरुद्धको एचपिभी खोप किशोरीहरूलाई नै दिइने सरकारको योजना रहेकाले यो अभियानलाई सफल पार्न आग्रह गरिएको छ । मङ्गलसेनमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय अछामका कोल्डचेन असिस्टेन्ट अनिल कुमार चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button