आफ्नै नागरिकताको ‘गलपासो’मा राम बहादुर खड्की, सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
बुटवल । त्यति बेला नागरिकता बनाइदिने टोली घरमा नआएको भए सायद राम बहादुर खड्कीलाई आफ्नै नागरिकता आफैलाई ‘गलपासो’ बन्दैनथ्यो होला । तर, यतिबेला आफ्नै नागरिकताले दिएको पीडा बोकेर उहाँ भौँतारिनु परेको छ ।
नेपाल सरकारले ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) उपलब्ध गराउँदै आएको छ । तर नागरिकताका कारण उहाँ सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनु परेको छ ।
बुटवल उप–महानगरपालिका वडा नम्बर ११, प्रगतिनगरस्थित सुकुम्वासी टोलमा बस्दै आउनु भएका राम बहादुर खड्की उमेरले ७८ वर्ष पुग्नु भयो । २००७ सालमा काठमाडौँको थानकोटमा जन्मिनु भएका राम बहादुरको नागरिकतामा २०२७ साल लेखिएका कारण नागरिकता अनुसार उहाँको भत्ताका लागि उमेर पुगेको छैन । नागरिकतामा उल्लेख गरिएको जन्म मितिमा उहाँ वास्तविक उमेर भन्दा २० वर्ष कान्छो हुनु हुन्छ । जसका कारण उहाँ सामाजिक सुरक्षा भत्ता ‘बृद्धभत्ता’ पाउनबाट बञ्चित हुनु परेको हो ।
‘त्यतीबेला नागरिकता बनाइदिने टोली घरमै आए । घरमै फोटो खिचे र नाम लेखेको कागजमा ‘ल्याप्चे’ लगाउन लगाए । एकैछिनमा ‘नागरिकता’ तयार भयो । बिना झन्झट घरमै बसी नागरिकता पाउँदा खुसी पनि लाग्यो । तर आज त्यही नागरिकताले रुवाउनु सम्म रुवाएको छ ।’ २०४६ सालमा आफ्नो नागरिकता बनाउँदाको किस्सा सुनाउँदै गर्दा राम बहादुर खड्कीका आँखा आँसुले भरिए ।
नागरिकताका अनुसार उहाँ यतिबेला भर्खर चौवन्न वर्षको हुनुहुन्छ । नेपाल सरकारले तोकेको उमेर अनुसार ‘वृद्ध भत्ता’ पाउनका लागि उहाँले अझै चौबिस वर्ष कुनु पर्ने हुन्छ । ‘कपाल सेतै फुलिसक्यो । ढाड कुप्रो भइसक्यो । लट्ठीको सहारामा भित्र बाहिर गर्नुपर्छ । दमले निकै दुख दिएको छ । असी पुग्न दुई वर्ष मात्रै बाँकी छ । अझै २४ वर्षसम्म त कहाँ बाँचिएला र?’ उहाँ प्रश्न गर्नु हुन्छ ।
करिब बीस वर्ष भन्दा अघि काठमाडौँबाट बुटवलमा बसाई सर्नु भएका उहाँ सामान्य लेखपढ समेत गर्न सक्नु हुन्न । पढ्न नजानेकै कारण नागरिकतामा आफु ठगिएको उहाँ बताउनु हुन्छ ।
यद्यपि, आफ्नो नागरिकतामा उमेर घटाइएको बारेमा उहाँले निकै पछि थाहा पाउनु भएको हो । २०६९ सालतिर सुकुम्वासी बस्तीमा रहेको आफ्नो जग्गाको ‘निस्सा’ लिने क्रममा नागरिकता आवश्यक भएपछि मात्र आफ्नो नागरिकतामा उमेर घटाइएको बारेमा थाहा पाएपछि उहाँ ‘छाँगाबाट खसे’ जस्तै हुनु भयो । त्यसपछिका दिनहरू निकै असन्तुष्टि र पीडामा बितेको उहाँ बताउनु हुन्छ ।
नागरिकताको समस्या लिएर राम बहादुरले कैयौँ पटक वडा कार्यालय धाउनु भयो । तर, उहाँ बस्दै आएको वडाले काठमाडौँबाट जारी भएको नागरिकताका सम्बन्धमा आफूहरूले केही गर्न नसक्ने बताए पछि उहाँ नागरिकता सच्याउन काठमाडौँ जानु भयो । तर, काठमाडौँ थानकोटस्थित आफु जन्मेको वडा र जिल्ला प्रशासन कार्यालयमा पुगी उहाँले नागरिकता सच्याउनका लागि माग गर्नु भएको थियो । तर, वडा र जिल्ला प्रशासन कार्यालयले ‘हुँदैन’ भन्दै फर्काइदिएको उहाँको गुनासो छ ।
उहाँ आफ्नो समस्या लिएर कैयौँ पटक काठमाडौँ जानु भयो । काठमाडौँ जाँदा–आउँदा निकै खर्च पनि भयो । तर, उहाँको कुरा कसैले सुनेनन् । उहाँ भन्नु हुन्छ–‘कहिले बुटवलको वडा कार्यालय जान्छु, कहिले थानकोटको वडा कार्यालय जान्छु । जहाँ गए पनि ‘हुँदैन’ मात्रै भन्छन् । अब त म थाकिसकेँ । भत्ता पाउने आश पनि मरिसक्यो ।’
यता, खड्कीका भाइ बहिनीले भने बिगत केही वर्षदेखि बृद्धभत्ता पाउँदै आउनु भएको छ । तर, आफूले भत्ता नपाउँदा निकै नमिठो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ‘सन्तान भइदिएको भए उनैले कमाएर पाल्छन् भन्ने आशा हुन्थ्यो । सन्तान पनि छैनन् । बुढेसकालको सहारा कोही छैनन् । भत्ता नपाउँदा नराम्रो लाग्छ । आफूभन्दा साना भाइ बहिनीहरूले भत्ता पायौँ भन्छन्, तर आफु भने कति अभागी रहेछु जस्तो लाग्छ ।’ उहाँले दुखेसो पोख्नु भयो ।
त्यसो त, उहाँकी श्रीमती सुर्जमाया खड्कीको पनि समस्या उस्तै छ । २००८ सालमा ललितपुरको पाटनमा जन्मिनु भएकी सुर्जमायाको नागरिकतामा पनि उमेर घटाएर २०२१ साल उल्लेख गरिएको छ । उहाँको वास्तविक उमेरभन्दा १३ वर्ष कम उमेर उल्लेख गरि नागरिकता जारी गरिएको छ । नागरिकता अनुसार वृद्ध भत्ताका लागि उहाँको पनि उमेर पुग्दैन । नागरिकतामा वास्तविक उमेर भन्दा कम लेखिएको हुँदा जन्म मितिकै कारण खड्की दम्पतीले राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधाबाट बञ्चित हुनु परेको छ ।
खड्की दम्पतीका कुनै सन्तान छैनन् । बुढेसकालको सहारा भन्नु पनि कोही छैन । आम्दानीका कुनै स्रोत छैनन् । बस्नका लागि सुकुम्बासी टोलमा सानो टिनको छाप्रो छ । रोगी र जीर्ण शरीरले आराम र औषधी खोजिरहेको छ । यस्तो अवस्थामा काम गरेर खान समेत मुस्किल भएको भन्दै राम बहादुरले दुखेसो पोख्नु हुन्छ ।
काम गर्न नसके पछि दुई/चार पैसा कसैले नपत्याएको सुर्जमायाको भनाई छ । ‘सरकार सबैका लागि हो भन्छन् । तर हाम्रा लागि त सरकार पनि छैन रहेछ । भत्ता बुढेसकालको सहाराका लागि हो । हामी भने त्यही भत्ताका लागि रुनु परेको छ ।’ उहाँले गुनासो पोख्नु भयो ।
सम्बन्धित कर्मचारीले साक्षरता नभएका व्यक्तिको विवरण आफूखुसी भरिदिँदा राम बहादुर र उहाँकी श्रीमतीले यस्तो खालको नियति भोग्नु परेकोमा दुई मत छैन । यद्यपि, नागरिकतामा देखिएको यस्तो खालको त्रुटि निकै गम्भीर त्रुटि हो । यसको जिम्मा सम्बन्धित कर्मचारीले नै लिनु पर्ने बताउनु हुन्छ अधिवक्ता श्याम विश्वकर्मा । उहाँका अनुसार नागरिकता देशकै जल्दोबल्दो समस्या हो । तर, नागरिकता यस्तो खालको त्रुटि हुनु राज्यकै कमजोरी हो । यस सम्बन्धमा सम्बन्धित वडा कार्यालय तथा प्रशासनले प्रचलित कानुन अनुसार सहजीकरण गरेर राम बहादुर जस्ता पीडितलाई न्याय दिनु पर्छ ।
त्यसो त, नागरिकताको विवरण सच्याउने सम्बन्धी कार्यविधि–२०६३ मा नागरिकता सच्याउन सकिने आधारहरू प्रशस्तै उल्लेख छन् । कार्यविधिका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले प्रमाणपत्रमा विवरण सच्याउनु पर्नाको मनासिब कारण उल्लेख गरी निवेदन दिएको खण्डमा नागरिकता सच्याउन सकिने छ ।
कार्यविधिमा ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको नाम, थर, उमेर, वतन वा अन्य विवरणमा त्रुटि भई सच्याउन चाहेमा भएको ब्यहोरा खुलाई तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।’ भनिएको छ ।
त्यस्तै, प्रमाण पेश गर्न नसक्नेहरूका लागि वंशजको नाताले नागरिकता प्रमाणपत्रको प्राप्तिसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार ‘कुनै व्यक्तिले ऐनको दफा ८ को उपदफा (१) बमोजिमका प्रमाणहरू निवेदनसाथ पेश गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत ‘सरजमिन’ र ‘निवेदक’लाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा तीनजना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सर्जमिन स्थलमै गरेको सनाखतको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ’ भनिएको छ ।
त्यस्तै विवरण सच्याउनेसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार ऐनको उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुद प्रमाण र आवश्यकता अनुसार साक्षी सर्जमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ । यस आधारमा पनि राम बहादुर खड्की र उहाँकी श्रीमतीले नागरिकतामा जन्ममिति सच्याई नागरिकताको प्रतिलिपि लिन सक्नु हुनेछ ।
उमेर पुगेका ज्येष्ठ नागरिकका हकमा नागरिकतामा उमेर कम भएर भत्ताबाट बञ्चित भएको खण्डमा प्रचलित ऐन, कानुन, र कार्यविधिका आधारमा नागरिकता संशोधन गर्न सकिने प्रष्ट आधार भएता पनि आफ्नो वडामा यस्तो खालको अभ्यास अहिलेसम्म नभएको बुटवल उपमहानगर पालिका वडा नम्बर ११ का वडा सचिव राम प्रसाद खनाल बताउनु हुन्छ ।
खनालका अनुसार, अहिले सम्म २० जना जति ज्येष्ठ नागरिकले ‘नागरिकतामा उमेर कम भयो’ भन्दै आउनु भएको छ । तर, उहाँहरू सबैले भत्ता भने पाइरहनु भएको छ । सचिव खनाल भन्नु हुन्छ, ‘राम बहादुर र उहाँकी श्रीमतीको समस्या अलि गम्भीर देखियो । खड्की दम्पतीको समस्या राष्ट्रिय समस्या हो, यस खाले समस्याको समाधानका लागि राज्यले नै पहल गर्नु पर्छ ।’
प्रतिक्रिया राख्नुहोस्