खुला आकाशमुनि सेवा, सरसफाइलाई प्राथमिकता दिँदै वीरगंज महानगर
वीरगंज। आन्दोलनको क्रममा कार्यालय जलेर पूर्ण रूपमा खरानी भएपछि खुल्ला आकाशमुनि कार्यालय सञ्चालन गरेको वीरगंज महानगरपालिका अहिले आगजनीले खरानी भएका संरचनाको सरसफाइमा जुटेको छ ।

महानगरपालिकाका कर्मचारीहरूले हाल नगर क्षेत्रको सरसफाइको कामलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् ।
आगलागीबाट खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ । कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरू ड्युटीमा खटिएका छन् ।

बीरगंज नगर क्षेत्रमा सार्वजनिक तथा निजी घर तथा कार्यालय जलाउने, लुटपाट गर्ने, तोडफोड गर्ने जस्ता गतिविधिले आक्रान्त बनेको वीरगंजलाई पुनः सरसफाइ गरी पुरानै अवस्थामा पुनर्जीवित गर्ने सङ्कल्पका साथ आफूहरू सरसफाइमा खटिएको वीरगंज महानगरपालिका सरसफाइ महाशाखा प्रमुख सरर्फुदिन मियाँले बताउनुभयो ।
खुल्ला आकाशमा कार्यालय सञ्चालन गरी महानगरले स्वास्थ्य र सरसफाइलाई निरन्तर रूपमा अगाडी बढाएको मियाँले बताउनुभयो ।

कार्यालय सँगै सरसफाइका सवारी साधनहरु समेत आन्दोलनमा जलेपछि प्रतिकूल परिस्थितिका बाबजुद पनि श्रोत साधनको अभावमा पनि नगरपालिकाका कर्मचारीहरू अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढतापूर्वक अघि बढिरहेको नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।

खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगंज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गरिरहेकै बेला वीरगंजले अर्को ठूलो चुनौतीको सामना गर्नुपरेको सिंहले बताउनुभयो ।
सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको युवापुस्ताको आन्दोलनमा केही आपराधिक समूह घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी भएको र नगरवासीको साझा सम्पत्तिहरू जलाउने कार्यालयहरू तोडफोड गर्ने, सडकमा रहेका संरचनाहरू भत्काउने जस्ता गतिविधिले वीरगंजबासीलाई निराशा बनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्