जेनजी आन्दोलनमा उदयपुरका दुई जनाको मृत्यु
उदयपुर । देशमा व्याप्त भ्रष्टाचार लगायतका विषयमा जेनजी युवाले सुरु गरेको आन्दोलनमा परि उदयपुरका दुई युवाको मृत्यु भएको छ ।
आन्दोलनमा परि ज्यान गुमाउनेहरूमा उदयपुरको बेलका नगरपालिका– ४ हरिपुरका ३० बर्षिया सन्तोष विश्वकर्मा र चौदण्डीगढी नगरपालिका– ३ आमसालका सारकुमार राई (सन्तोष) रहनुभएको छ ।
उदयपुरको बेलका नगरपालिकाका सन्तोष विश्वकर्माको जेनजि आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो । उहाँ १० वर्षीय छोरा उज्ज्वल, ८ वर्षिया छोरी सोनिया र श्रीमती अमिकासहित काठमाडौँस्थित पुरानो बानेश्वरमा कोठा भाडामा बस्नुहुन्थ्यो । आन्दोलनमा जानुभएका सन्तोष भिडियो खिच्दै गर्दा गोली लागेर ढल्नुभएको थियो ।
सन्तोषको उपचारका क्रममा मृत्यु भएको दाजु भोलबहादुरले बताउनुभयो । हाल सन्तोषको शव शिक्षण अस्पतालमा राखिएको छ ।
सामान्य परिवारका सन्तोष काठमाडौँमा सुन कालिगडका रुपमा काम गर्नुहुन्थ्यो ।
त्यस्तै, लामो समयदेखि काठमाडौँ बसेर गुजारा चलाउँदै आउनुभएका चौदण्डीगढी नगरपालिका–३ आमसालका सारकुमार राई (सन्तोष) को पनि आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर सारकुमारको मृत्यु भयो ।
सामान्य परिवारका उहाँ विगत ५ वर्षदेखि काठमाडौँस्थित सिनामंगलमा बसेर दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो । २ छोरीसहित श्रीमती ५ वर्ष अघि सन्तोषलाई छाडेर बुटवल बस्दै आएकी थिइन् ।
जेनजी आन्दोलनका बेला साथीहरूसहित उहाँ पनि बानेश्वर, तीनकुने हुँदै गौशाला पुग्नुभयो । प्रदर्शनकारीहरूले प्रहरी बिटमा पनि आक्रमण गर्न थालेपछि प्रहरीले अन्धाधुन्ध गोली र अश्रु ग्याँसको वर्षा गर्न थाल्यो । त्यही बेला टाउकोमा गोली लागेर उहाँको घटनास्थलमै मृत्यु भयो । हाल उहाँको शव शिक्षण अस्पतालमा राखिएको दाइ गोपालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्