तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा चाडबाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । 

नेपालीहरूका ठूला चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कम्पनीको प्रादेशिक कार्यालय परिसरभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

हाललाई सुपथ मूल्य पसलमा ६ प्रकारका चामल, ३ प्रकारका खाने तेल र चिनी उपलब्ध रहेको प्रादेशिक कार्यालयका लेखापाल पर्वत सापकोटाले जानकारी दिनुभयो । उहाँले चामल, चिनीमा प्रतिकिलो ५ र तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिइएको बताउनुभयो । 

उहाँका अनुसार सुर्खेतमा अरुवा मोटा चामल, अरुवा मोटा चामलमा ‘पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), अरुवा सोना मन्सुलि चामल, अरुवा सोना मन्सुलि ‘पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), स्टिम जिरा मसिनो चामलसँगै स्टिम जिरा मसिनो चामल ‘पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), सूर्यमुखी तेल, सोयाबिन तेल, तोरी तेल र चिनी सुपथ मूल्य पसलबाट विक्री वितरण शुरु भएको छ । 

प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा कर्णालीका उपभोक्तामा मागलाई मध्यनजर गरेर थप वस्तुको विविधीकरणका लागि केन्द्रसँग समन्वय भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button