तपाईँ सुन्दै हुनुहुन्छः

मिटरब्याज पीडितहरू पुनः आन्दोलनमा

जनकपुरधाम । मिटरव्याज पीडितहरूले जारी रहेको आर्थिक शोषणविरुद्ध जनजागरण अभियान आजदेखि सुरु गरेको छ । मिटरव्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपालको अगुवाइमा पुनः आज देखि शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ ।  

मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा निष्केको विरोध र्‍याली जनकपुरधामको विभिन्न भागमा पुगेर प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय क्षेत्रमा पुगेर प्रदर्शन गरेको छ ।  

मिटरब्याजको विरुद्ध आन्दोलनको बिस्तार देशव्यापी रुपमा गर्ने पनि जनाएको छ । मिटरव्याजका कारणले चार जना सहिद भएको बताउँदै यस अघि पटक पटक सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगरेको गुनासो उनीहरूको रहेको छ ।

मिटरब्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाइ भइरहेको पीडितहरूले बताउँदै देशमा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशतले मात्र न्याय पाएको र धेरैले फर्जी कागजकै आधारमा पीडितहरू कारागार चलान भएको दाबी गर्दै आएका छन् ।

राज्यको प्राथमिकतामा राखेर मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने गरेर कडा बनाउने पीडित सङ्घर्ष समितिले जनाएको छ । उनीहरूले मिटरव्याज पीडितहरू अहिले पनि शोषणमा रहेको र मिटर ब्याजको समस्यालाई पहिचान गर्न विगतमा गठन भएको कार्यदलले कुनै ठोस परिणाम दिन नसकेको र पीडितलाई झनै पीडित बनाउने काम राज्यका निकायबाट नै हुने गरेको पीडितहरूको कथन रहेको छ ।

यसले मिटरव्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरुद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त सङ्घर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको सङ्घर्ष समितिले लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button