तपाईँ सुन्दै हुनुहुन्छः

२४ औँ आहा ! रारा पोखरा गोल्डकप माघ २२ गतेदेखि 

पोखरा । पर्यटकीय नगरी पोखरामा २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि हुने भएको छ । 

सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा भारतको थन्डर नर्थ यूनाइटेड क्लबसहित १२ टीम सहभागी हुने आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । 

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सङ्कटा फुटबल क्लब, एनआरटि फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब यु.के. र आयोजक सहारा क्लब सहभागी हुने भएको क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । 

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ४२ लाख २० हजार खर्च हुने महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । १२ दिनसम्म चल्ने प्रतियोगिताबाट ८ लाख ८० हजार बचत गर्ने क्लबले लक्ष्य राखेको छ । 

आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्य अनुरुप फुटबलमार्फत सहारा क्लब सामाजिक सेवा निरन्तर क्रियाशील रहेको महासचिव अधिकारीले जनाउनुभयो । 

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरू छन् ।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको अध्यक्ष बरालले बताउनुभयो । 

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ गरेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button