काभ्रेभञ्ज्याङको फर्निचर उद्योगमा आगलागी हुँदा महिलाको जलेर मृत्यु
काभ्रेपलान्चोक।काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङमा फर्निचरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको छ । श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत् सर्ट भई आगलागी भएको बताइएको छ ।
फर्निचरमा काम गर्ने ७० वर्षीय टिकादेबी दङगालको जलेर मृत्यु भएको छ । काठमाडौँ शंखरापुर न.पा. १ नाङलेभारे बस्ने बर्ष ७३ को तोयानाथ दङगाल घाइते भएका छन् । टिकादेबी तोयानाथकी श्रीमती हुन् । तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट फर्निचरको असी लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट फर्निचर नजिकै रहेको कृष्ण बि.क. को ढुङ्गा माटो जस्ताले बनेको एक तले कच्ची घर, ध्रुव बहादुर बि.क. को जस्ताले बेरेको जस्ताले छाएको एक तले टहरोमा समेत क्षति भएको छ । कृष्ण बि.क. को सात लाख बराबरको क्षति भएको र ध्रुव बहादुर बि.क.को तिन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ९ बजेको समयमा आगलागी भएको हो ।आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरिक्षक वसुन्धरा खड्काको कमाण्डमा ४० जनाको प्रहरी टोली खटिएको थियो । यस्तै ५ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्