पहिरोबाट विस्थापितको स्थानान्तर गर्ने कार्य सुरु, बजेट अभावले काम सम्पन्न हुनेमा शङ्का
उदयपुर । वर्षाका कारण पहिरोबाट विस्थापित भएका उदयपुरको त्रियुगा नगरपालिका १५ तोरीबारीका पहिरो पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तर गर्ने कार्य सुरु गरिएको छ ।
असार २४, २५ र असोज १०, ११ र १२ गते परेको अविरल बर्षाका कारण गएको पहिरोमा परि त्रियुगा नगरपालिका १५ तोरीबारीका ३० घर विस्थापित भएका थिए ।
उनीहरू मध्ये ६ घर परिवारलाई तत्काल एकीकृत बस्ती निर्माण गरि नजिकैको सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष तिम्सिनाका अनुसार पहिरोले विस्थापित भएकाहरूलाई राहत सामग्री धेरै आएको भएपनि उनीहरुलाई बस बस्ने व्यवस्था नहुँदा निकै ठुलो समस्या रहेको बताउनुभयो । उहाँले आफूहरूले विपद व्यवस्थापनको बैठक बसेर तत्काल ६ घर परिवारलाई सुरक्षित स्थानमा सार्न र बाकी रहेका ३३ घर परिवारलाई समेत आउने वर्षाभन्दा अगाडी नै अन्यत्र स्थानान्तरण गर्नु पर्ने माग सङ्घीय सरकार सम्म पुर्याएको भएपनि त्यसका लागि कुनै पनि ठोस काम नभएको बताउनुभयो ।
अहिले वडाले पहिरोबाट पूर्णरुपले विस्थापित भएका ६ घर परिवारका लागि सरकारी जमिन करिब २० रोपनीमा स्थान्तरण गर्न लागेको छ । यद्यपि पहाडी जमिन भएकोले एकीकृत बस्ती निर्माणका लागि जमिन सम्याउन समेत कठिन भएका बेला नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतको पहलमा सडक आयोजना कार्यालय गाईघाट बोक्सेले ५ दिन मेसिन उपलब्ध गराउन आयोजना प्रमुख पशुपति ज्ञवालीले सहयोग गरेपछि अहिले जमिन मिलाउने काम सम्पन्न भएको छ । तर जमिन उपलब्ध भएको भएपनि तत्काल घर निर्माण गरेर पूर्णरुपले विस्थापित भएका ६ घर परिवारलाई समेत स्थान्तरण गर्न कठिनाइ भएको वडा अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।
गत असार २४ गते सोमबार राति परेको अविरल वर्षाका कारण त्रियुगा नगरपालिका १५ खाँबु तोरीबारीमा आएको पहिरोमा परी एकजनाको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । पहिरोले स्थानीय घर गोठ सहित खसी बाख्रा, बङ्गुर समेत बगाएको थियो । घरबार विहीन भएको महिनौँ हुँदा सम्म उनीहरुलाई ठोस रुपमा स्थान्तरण गर्न नसक्दा उनीहरू चिन्तित बनेका छन् । पहिरोले पूर्णरुपमा विस्थापित भएकाहरू अहिले अर्काको घरमा आश्रय लिएर बसिरहेका छन् भने आंशिक क्षति भएकाहरू वर्षा नजिकिए सँगै कहाँ गएर बस्ने भन्ने पीडामा रुमलिन थालेका छन् । उनीहरूले छिटो आफूहरूको व्यवस्थापन गरिदिन माग समेत गरेका छन् ।
पहिलो चरणमा पूर्ण विस्थापित भएका ६ घर परिवारलाई स्थानान्तर गर्न लागिएको भए पनि बजेट अभावले काम सम्पन्न नहुने होकी भन्ने देखिएको छ भने पहिरोको उच्च जोखिममा रहेका अन्य परिवारलाई समेत छिट्टै स्थानान्तर गर्नु पर्नेमा कसैको चासो नहुँदा बर्खामा ठुलो जनधनको क्षति हुने निश्चित प्राय छ । यस तर्फ समयमै सबै पक्षले काम गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्