तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकलाई अर्गानिक मह

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई अर्गानिक मह वितरण गरिएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ ले वडाभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई गाउँमै उत्पादन भएको अर्ग्यानिक मह उपलब्ध गराएको हो । वडाभित्रका ९० जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई एक/एक किलो महले सम्मान गरिएको हो । 

स्थानीयस्तरमा उत्पादन भएको महको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्नुका साथै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लाभदायी होस् भन्ने हेतुले मह उपहार दिएर सम्मान गरिएको वडाध्यक्ष छविराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नु भयो ‘मह स्वास्थ्यका लागि आफैमा लाभदायी नै हुन्छ,ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई यसले फाइदा नै गर्छ ।’ 

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाले सधैँ माया, सद्भाव र सम्मान गर्दै आएको बताउनुभयो । ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने, सिकाइलाई निरन्तरता दिने हेतुका साथ अबको केही महिनामै गाउँपालिकास्तरको ज्येष्ठ नागरिक सम्मेलन गर्दैछौं’– उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने, औषधि उपचार गर्ने, रेखदेख तथा हेरचाह गर्ने र उहाँहरूसँग भएको ज्ञान र सीपको नयाँ पिँढीमा हस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button