तपाईँ सुन्दै हुनुहुन्छः

जाडोले सुनसरीको जनजीवन प्रभावित

सुनसरी। सुनसरीमा सोमबार देखी आज शुक्रबार सम्म पनि घाम नलागेको र बाक्लो हुस्सु लागेकाले एक्कासी जाडो बढेको छ । 

तीन दिनदेखि अत्यधिक बाक्लो हुस्सु जाडोपछि जिल्ला सदरमुकाम इनरुवा सहित दक्षिण वर्ती क्षेत्रको जनजीवन प्रभावित भएको हो । 

जिल्लाका अधिकांश भागमा केही दिन यता बिहानै देखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । 

जाडो बढेकाले देवानगञ्ज गाउँपालिकाले विद्यालय शैक्षिक संस्था बन्द गरेको छ भने इनरुवाका केही विद्यालयले आन्तरिक बिदा कट्टा हुने गरि दुई दिन विद्यालय बन्द गरेको छ । चिसो हावा र सिमसिमे पानी जस्तै शीत खसेको र शितलहर चलेकाले जाडो छल्न गढी गाउँपालिकाले औरावनी, भमरी सहित ग्रामीण क्षेत्र भित्र आगो ताप्न दाउरा उपलब्ध गराएको अध्यक्ष आसनारायण चौधरीले जानकारी दिनुभयो । 

बाक्लो हुस्सु लागेको र चिसो हावा समेत चलेकाले मानव जनजीवन प्रभावित हुनुका साथै पशुचौपायामा समेत असर परेको छ । यससँगै बजार क्षेत्रमा न्यानो कपडाको बिक्री समेत बढेको व्यापारी राहुल साहले बताउनुभयो । हुस्सु र अत्यधिक चिसो बढेकाले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएकाले बजारमा चहलपहल कम भएको छ । 

जाडोले ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरूलाई बढी समस्या भएको गढी गाउँपालिकाका देव चौधरीले जानकारी दिनुभयो । 

अत्यधिक जाडोकै कारण दुहबी, इनरुवा, इटहरी, , लौकहीले तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरूमा बिदा दिइएको हो । सुनसरीमा चिसो बढेसँगै दुहबी, इनरुवा, इटहरी,लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको केही मानिसहरू घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button