उत्तरी गोरखामा आगलागी, तीन घर जले

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । आगलागीमा परेर ११ पशुचौपाया मरेका छन् । आठ वटा गाई र तीन वटा गोरु जलेर मरेका हुन । घटनाको जानकारी पाएलगत्तै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो ।
बिहीबार दिउँसो करिब साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात् निर्माण भएको एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन् ।
समयमै हिमपात नभएको र हावाहुरीका कारण आगलागी भएको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामाले बताउनुभयो । हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्वाको जस्ता र माने दुङ्गुर समेत समेत उडाएको छ । यस वर्ष यहाँ अझै हिउँ परेको छैन । हिउँ नपरेपछि किसानहरु चिन्तित भएका वडा अध्यक्ष लामाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्