नक्कली जग्गा धनी बनेर करोडौँ कर्जा लिएको आरोपमा तीन जना पक्राउ
नेपालगञ्ज । नक्कली जग्गा धनी बनेर बैङ्कमा धितो राख्दै करोडौँ रुपैयाँ कर्जा लिएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका–१ का २२ वर्षीय गौरव कार्की, बनेपा नगरपालिका– १ की ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का ३५ वर्षीय दिलीपकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेशमा श्रेष्ठको नाममा बाँकेको डुडुवा गाउँपालिका–५ मा दर्ता रहेको कि.नं. ९५१ र कि. नं. ९५२, क्षेत्रफल ११,०६०.३८ वर्गमिटर (३३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी बनेर उनीहरूले जग्गाको लालपूर्जा बनाएर मुक्तिनाथ बिकास बैङ्कबाट १ करोड २० लाख रुपैयाँ कर्जा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरू तीनै जनाले ठगी गर्दै बैङ्कबाट करोडौँ रकम ल्याएको निवेदन परेपश्चात् जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्ला प्रहरी परिसर काठमाडौँलाई गौरव, ईश्वरी र दिलीपलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
काठमाडौँ प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरू तीन जनालाई माघ ८ गते काठमाडौँको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
करोडौँ रुपैयाँ ठगी गरेर पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार उनीहरुलाई बाँके जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्