मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो, जनजीवन प्रभावित
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा आज पनि बिहान देखि बाक्लो कुहिरोसँगै शीतलहर चलेका कारणले जनजीवन प्रभावित बनेका छन् ।
हिजोदेखि शुरु भएको शीतलहर आज पनि जारी रहेका कारणले जनजीवन प्रभावित बनेको छ । बिहान देखि पश्चिम दिशावाट चलेको शीतलहरका कारणले चिसो अत्यधिक मात्रामा बढेपछि खुल्ला आकाशमा काम गर्ने गरिब तथा विपन्न वर्ग बढी प्रभावित बनेका छन् ।
यता बाक्लो कुहिरोका कारणले जनकपुर विमानस्थल दोस्रो दिन पनि खुल्न सकेनन् । काठमाडौँबाट जनकपुरधामको कुनै पनि उडान सेवा आज नभएको बुद्ध एअरका स्टेशन म्यानेजर विजय सिंहले जानकारी दिनु भएको हो ।
काठमाडौँ–जनकपुर विमान अवतरणका लागि चाहिने भिजिबिलिटी नभएका कारणले कुनै पनि विमान आउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरधामको कार्यालयले जनाएको छ । दुई दिन देखि जनकपुरधाममा कुनै पनि उडान सेवा हुन नसकेपछि अति आवश्यक भएका यात्रीहरू वैकल्पिक सवारी साधनको प्रयोग गरेर काठमाडौँ जान थालेका छन् ।
यता दुई दिन देखि अत्यधिक मात्रामा चिसो बढेका कारणले विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थितिमा कमी आउन थालेको विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूले जानकारी दिएका छन् । अत्यधिक चिसो भएपछि न्यानो तथा बाक्लो लुगाको बिक्रीमा पनि वृद्धि भएको छ ।
यसैगरि अत्यधिक चिसोका कारणले बालबालिका तथा वृद्ध–वृद्धाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । यसका साथै दम, रुघाखोकी, बाथ तथा गेठीया रोगका बिरामीहरू थप स्वास्थ्यमा परेका छन् ।
चिसोबाट जोगिनका लागि जनकपुरधाममा डिभिजन वन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न ठाउँमा दाउरा वितरण गरेर आगो बालेर गरिब तथा विपन्नलाई ताप्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्