गुल्मीमा भौगोलिक दूरी घटाउँदै झोलुङ्गे पुल, नागरिकलाई यात्रा गर्न सहज
गुल्मी । सामान्यतया नदी पार गर्न पुल निर्माण गरिन्छ । तर, गुल्मीमा भने यात्रा छाेट्याउनका लागि झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ । पछिल्लो समय जिल्लाका चार स्थानमा निर्माण भएका झोलुङ्गे पुलले गाउँको पैदल यात्राको दूरी घटाएका छन् ।
केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको मालिका गाउँपालिका–५ को छापहिले लाँकुरीलाई वडा नम्बर–२ चुत्राबोट जोड्ने गरी जिल्लामै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै वारिपारि गर्ने २ घण्टाको दूरी केही मिनेट भरमै पुग्न सकिने भएको छ । पुलको लम्बाइ ३७५ मिटर लम्बाइ रहेको छ । झोलुङ्गे पुल २ करोड ३ लाख चालीस हजार लागतमा निर्माण भएको हो ।
त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा धुर्कोट वडा नम्बर–५ र इस्मा गाउँपालिका वडा नम्बर–६ जोड्ने गरि झोलुङ्गे पुल निर्माण भएको छ । खोलामाथि निर्माण भएपनि यो पुलले पनि पैदल यात्रीको वारिपारि आऊ–जाऊ गर्ने गरी दूरी कम गरेको छ । १ करोड ८९ लाखको लागतमा निर्माण भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयबाट ३ सय ७० मिटर लम्बाइ रहेको छ । लामो र अग्लो स्थानमा बनेको झोलुङ्गे पुलले विचित्र गुफा पुग्ने पर्यटक बढाउने स्थानीय रक्षा पन्थ बताउनुहुन्छ ।
जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ उदिनढुंगा र वडा नम्बर–७ लसुने डाँडा जोडने नमूना झोलुङ्गे पुल निर्माण भएको छ । दुईवटा वडाका स्थानीयलाई वारिपारि आउजाउ गर्न पैदल यात्रा गर्दा घुमाउरो बाटो हिँड्नु पर्ने बाध्यतामा रहेका नागरिकको २० मिनेटभन्दा बढी समय लाग्ने बाटो २ मिनेटमै पुग्न पाउँदा स्थानीय खुशी भएका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ५ छापहिले र वडा नम्बर २ दर्लिङ जोड्ने गरि निस्ती खोला माथी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सङै तीन घण्टाको दुरी आधा घण्टामा छोटिएको स्थानीय देवकला विक बताउनुहुन्छ ।
तम्घास बजारको उदिनढुंगाबाट साखिने डाँडा पुग्ने ३५७ मिटर लामो पुल नेपाल सरकार शहरी विकास मन्त्रालय सस्पेन्सन ब्रिज डिभिजन मार्फत १ करोड ८४ लाखको लागतमा पुल निर्माण भएको हो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर–७ र वडा नम्बर–९ जोड्न पनि नमूना झोलुङ्गे पुल निर्माण भएको छ । वडा नम्बर–७ भुजलखर्क र वडा नम्बर–९ विद्युत् कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्दा ३० मिनेटभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अहिले केही मिनेटमै बाटो छोटिएको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो ।
झोलुङ्गे पुल निर्माणका लागि गुल्मी क्षेत्र नम्बर २ का सङ्घीय सांसद गोकर्ण बिष्टको विशेष पहलमा नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत निर्माण भएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्