टोलटोलमा सडक कालोपत्रे गर्दै बर्दिबास नगरपालिका
महोत्तरी । यहाँको बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्नुहुन्छ । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो ।
बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्रे गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो ।
बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्रे गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।
नगरभित्रका सडकहरू वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताउनुभयो ।
नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्रे सडकसँग जोडेको छ ।
भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाइ भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो ।
उहाँले सडक कालोपत्रे भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज भएको बताउनुभयो । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्